वासिङ्टन । संयुक्त राज्य अमेरिकाले आइएस विरुद्धको कारबाहीलाई लिबियामा पनि सुरु गर्ने सङ्केत गरेको छ । प्राप्त पछिल्लो समाचारअनुसार राष्ट्रपति ओबामाले आफ्ना सहयोगीहरुलाई लिबियामा पनि आइएस विरुद्धको कारबाही सुरु गर्ने विषयमा आवश्यक सुझाव दिन आह्वान गर्नुभएको छ । गएको करिब १८ महिनादेखि अमेरिकाले अरु केही पश्चिमा मुलुकहरुको पनि सहयोगमा इराक र सिरियामा आइएस विरुद्ध हवाई कारबाही गर्दै आएको छ ।
ह्वाइट हाउसमा शुक्रबार राष्ट्रपति ओबामाले पछिल्लो समयमा आइएसका क्रियाकलापहरु लिबियामा बढ्दै गएकोले अमेरिकी नेतृत्वमा त्यहाँ पनि कारबाही सुरु गरिनुपर्ने बताउनुभएको हो । लिबियामा अहिले करिब तीन हजार जना आइएस लडाकू रहेको अनुमान गरिएको छ । सोही अनुमानका आधारमा अमेरिकी नेतृत्वमा हालको आइएस विरुद्धको गठबन्धनका देशहरुले आक्रमण गर्ने बारेमा प्रक्रिया सुरु हुने भएको हो ।
अमेरिकी अधिकारीहरुले तर यस विषयमा ठोस प्रस्ताव भने नआएको बताएका छन् । उनीहरुले सो विषयमा सोच्नुपर्ने भन्दै आवश्यक मात्रामा परामर्श राष्ट्रपति ओबामाले गरिरहनुभएको उनीहरुले बताए । पछिल्लो समयमा अमेरिकी नेतृत्वमा रहेका केही देशहरुको पनि सम्लग्नतामा सिरिया र इराकमा यस्तो हवाई कारबाही हुने गरेको छ । एएफपी