दमास्कस । सिरियाका शरणार्थीहरुका लागि विश्वका दाता राष्ट्रहरुले कम्तीमा पनि दश अर्ब अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता सार्वजनिक गरेका छन् । लन्डनमा जारी रहेको सिरियाका सहयोगी समूहको बैठकमा सो प्रतिबद्धता आएको जनाइएको छ । सिरियाली दाताहरुको सम्मेलन लन्डनमा बिहीबार सुरु भएको हो ।
शुक्रबारको सो सम्मेलनका क्रममा टर्कीको बाटोहुदै दशौँ हजार सिरियाली शरणार्थीले सिरिया छोडेको जनाएका हुन् । आफ्नो देशहुदै अहिले पनि कम्तीमा ७० हजार जनाले टर्कीको बाटो रोजेका जनाइएको हो । साथै सो सम्मेलनका क्रममा सिरियाको अलेपो सहरमा मात्र करिब तीन लाख शरणार्थीले सिरिया छोड्ने पर्खाइमा रहेका टर्किस् प्रतिनिधिले जानकारी दिएका हुन् । अलेपोमा रसियाली युद्धक विमानले आक्रमण गर्ने गरेका छन् । सो आक्रमणबाट बच्नका लागि उनीहरुले सिरिया छोड्न खोजेका बताइएको हो ।
सिरियामा जारी रहेको हिंसाका कारण घरबारबिहीन नागरिकको संरक्षणका लागि सिरियाली दाताहरुको सो सम्मेलन सुरु भएको हो । सिरियाको पाँचवर्षे हिंसाको अन्त्यका लागि जारी रहेका विभिन्न प्रयासहरुमध्ये दाताहरुको सम्मेलन पनि एक हो । सो सम्मेलनमा दाताहरुको प्रतिबद्धताको बारेमा छलफल भइरहेको छ । गएको शुक्रबार जेनेभामा संयुक्त राष्ट्रसङ्घीय अधिकारी, सिरियाली प्रतिनिधि र साउदी अरेबियाका मध्यस्थकर्ताहरुबीच वार्ता सुरु भएको थियो ।
सिरियामा जारी रहेको करिब पाँच वर्षलामो युद्धको अन्त्यका लागि सुरु हुन लागेको सो वार्तामा विपक्षीको पनि सहभागिता रहेपछि यसको निष्कर्षका बारेमा प्रतिक्षा सुरु भएको बताइएको थियो । सिरियामा गएको करिब पाँच वर्षदेखि जारी हिंसामा परी कम्तीमा पनि दुई लाख ६० हजार नागरिकको ज्यान गएको छ । सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरबारबिहीन वा शरणार्थी भएका छन् ।
सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि यसअघि पनि संयुक्त राष्ट्रसंघले वार्ताको प्रयास गरेको हो । तर वार्ता सफल हुन सकेको छैन । तर यस पटकको वार्ता भने साउदी अरेबियाको अग्रसरतामा तय भएको हो । साउदी अरेबियाको पहलमा सुरु भएको सो वार्तामा संयुक्त राष्ट्रसंघको पनि सहभागिता छ ।एएफपी