arrow

विषाक्त मदिरा सेवनबाट मृत्यु भएका नेपालीको मलेसियाबाट शव ल्याइँदै

logo
प्रकाशित २०७५ असोज १३ शनिबार
malaysia-nepali-dead-poisoning.jpg

काठमाडौं। विषाक्त मदिरा सेवनका कारण मलेसियामा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याइँदै छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार सर्लाहीका आइतसिं गोलेको शवको बिहीबार नै नेपाल ल्याई परिवारजनको जिम्मा लगाइएको छ। सुनसरीका संजय उराव र इलामका बलबहादुर कुलुङको शव परिवारको पहलमा नेपाल ल्याइसकिएको बताइएको छ।

रुपन्देहीका रामकुमार यादवको शव आज राति नेपाल ल्याइँदैछ। थाई एयरलाइन्सको नियमित उडानबाट यादवको शव नेपाल ल्याइने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए।

त्यस्तै सर्लाहीका शेरबहादुर ठकुरीको शव शनिबार नेपाल ल्याइने बोर्डले जनाएको छ। बोर्डका अनुसार यही असोज १४ गते भीमबहादुर घले, १६ गते विशाल बुढाथोकी, १७ गते सुकुवल घिसिङ र १८ गते विमल कार्कीको शव नेपाल ल्याइनेछ।

शव घरसम्म पुर्‍याउनका लागि सम्पूर्ण व्यवस्था बोर्डले नै गर्ने कार्यकारी निर्देशक श्रेष्ठले बताए। उनले भने, “बोर्डले श्रम अवधिभित्रै मृत्यु भएका कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घरसम्म पुर्‍याउनका लागि गाडीको व्यवस्था गर्दै आएको छ, सोही बमोजिम मृतकका शव ढुवानीको व्यवस्था गरेका छौँ।”

मृतकमध्ये ठकुरी र गोले गैरकानूनी रुपमा नौ वर्षदेखि मलेशियामा बसोबास गर्दै आएको देखिएको जानकारी दिँदै उनले विशेष परिस्थितिका कारण मृत्युवरण गर्नुपरेकाले उनीहरुको शव सम्बन्धित स्थानमा पुर्‍याउन बोर्डले सहयोग गर्ने बताए।

यसैबीच, श्रम अवधिभित्रै मृत्यु भएका व्यक्तिका परिवारले आर्थिक सहायता प्राप्त गर्नसक्ने बोर्डले जनाएको छ। उनीहरुले राहतस्वरुप रु सात लाख र बीमाबापत रु १२ लाख प्राप्त गर्ने छन्। मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट नौ नेपालीको मृत्यु भएको थियो भने १० जना गम्भीर बिरामी परेका थिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ