चङ्गा उडाउने क्रममा १२ वर्षीय राकेशको करेन्ट लागेर मृत्यु
प्रकाशित २०७५ असोज १३ शनिबार
627
Shares
कास्की। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं १ टुसेमा शुक्रबार साँझ चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ। स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका १२ वर्षीय छोरा राकेश पुनको विद्युत् पोलमा अड्किएको चङ्गा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिए।
चङ्गा उडाएर खेलिरहेका बालक पुन चङ्गा विद्युत्को पोलमा अड्किएपछि निकाल्नको लागि पोलमा चढेका थिए। पोलमा चढ्ने बित्तिकै उनी नाङ्गो तारमा अड्किएको प्रहरीको भनाइ छ।
गुरुङका अनुसार पोखराबाट प्रहरी र विद्युत् प्राधिकरणको प्राविधिकसहितको टोली पुगेपछि मात्र बिजुलीको नाङ्गो तारमा अड्किएका बालकलाई बाहिर निकालिएको थियो। मृतक बालकको शव पोष्टमार्टमको लागि अहिले पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। रासस