arrow

गौ हत्या गर्नेलाई नयाँ कानूनले राहत, तीन जना कैदमुक्त

logo
प्रकाशित २०७५ असोज १३ शनिबार
cow.png

सोलुखुम्बु। जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो।

सोलुखुम्बुको साविक चौरीखर्क गाविस–८ का दावाकाजी शेर्पा, बुङ् गाविसका गन्जधन कुलुङ राई, रजप्रसाद राई र नेचासल्यान गाउँपालिका–२ का हेमन्त राईलाई कैदमुक्त गर्न आदेश भएको हो। पुरानो कानूनअनुसार १२ वर्षको कैद भुक्तान गरिरहेका चार जनाले यही भदौ ५ गते नयाँ कानूनअनुसार कैद घटाइपाउँ भनी निवेदन दिएका थिए। 

सो निवेदनमाथि अदालतले नयाँ कानूनअनुसारको तीन वर्षको कैद भुक्तान गरिसकेकाले कैदमुक्त गर्न आदेश भएको जिल्ला अदालत सोलुखुम्बुका नायब सुब्बा भगीश्वर सराइलीले जानकारी दिए। दावाकाजी शेर्पा, गन्जधन कुलुङ राई र रजप्रसाद राईलाई जनही रु २२-२२ हजार जरिवानासहित र हेमन्त राईलाई विना जरिवाना कैदमुक्त गरिएको हो। हेमन्तले गाईहत्या मात्र गरेकाले जरिवाना नगरिएको तथा अन्य तीनले गाई चोरीसमेत गरेकाले जरिवाना तिराइएको अदालतको ठहर छ।

तीन जना विसं २०७१ असोज ८ गते पक्राउ परेका थिए भने हेमन्त राई विसं २०७० चैत १७ गते पक्राउ परेका थिए। हेमन्तलाई २०७१ जेठ १४ गतेको फैसलाले थुनामा राख्न आदेश भएको थियो भने बाँकी अरूलाई विसं २०७१ असोज ८ गतेको फैसलाले थुनामा राखिएको थियो।

उनीहरूलाई तत्कालीन प्रचलित कानूनअनुसार १२ वर्षको सजाय भएको थियो भने हाल बहाल रहेको मुलुकी अपराध संहिता २०७४ को परीक्षद २७ को पशुपछीसम्बन्धी कसुरको दफा २८९ को उपदफा २ बमोजिम गौ हत्याको तीन वर्ष कैद सजायको व्यवस्था भएकाले उनीहरूलाई कैदमुक्त गरिएको जिल्ला न्यायाधीश सुवेदीले जानकारी दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ