निर्मला हत्याकाण्ड : एसपी विष्ट, छोरा किरण र मेयरका भतिजाको डीएनए पुग्यो कञ्चनपुर
प्रकाशित २०७५ असोज १३ शनिबार
366
Shares
काठमाडौं । भीमदत्त नगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा प्रमाण मेटाएको आरोप लागेका तत्कालिन जिल्ला प्रहरी प्रमुख एवं एसपी डिल्लीराज विष्टसहित ३ जनाको डीएनए परीक्षणको रिपोर्ट कञ्चनपुर पुगेको छ ।
डीएनए रिपोर्ट पुगेकै दिन कञ्चनपुरमा आन्दोलन पनि सुरु भएको छ । भदौ २८ गते निलम्बित एसपी बिष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश बिष्टको डीएनए परीक्षण गर्न रगतको नमूना लिइएको थियो ।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतका अनुसार तीनै जनाको डीएनए रिपोर्ट कञ्चनपुर पुगेको छ । तर, शुक्रबार ढिलोगरी पुगेको र भोलिपल्ट शनिबार सार्वजनिक विदा परेकाले अब आइतबार मात्रै सरकारी वकिलको राय अनुसार खामबन्दी खोलिने भएको छ ।
उनका अनुसार सिलबन्दी गरि आएको डीएनए रिपोर्ट सरकारी वकीलसँग परामर्श गरेर अदालतमा पेश गरिने छ । एसपी बिष्टसहित तीनै जनाको डीएनए त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा गरिएको बताइएको छ ।
यसअघि प्रहरीले मुख्य अभियुक्त भनेका दिलिपसिंह विष्टको डिएनए रिपोर्ट नमिलेपछि उनी जिम्मा जमानीमा छुटेका थिए । निर्मला गएको घरका दिदीबहिनी रोशनी भनिने आँचल र बबिता भनिने अनिता बम समेत दिलिपसँगै छुटे ।
यता, गृहमन्त्रालयले घटनाको छानविन गर्न गठन गरेको उच्चस्तरीय छानविन समितिले रिपोर्ट बुझाएको छ । तर, न त्यो रिपोर्ट सार्वजनिक भएको छ, न दोषीको कुनै सुराक मिलेको छ । एसपीसहितका तीन जनाको डीएनए रिपोर्टले केही कुरा प्रष्ट पार्ने छ । साउन १० गते बम दिदीबहिनी बस्दै आएको घरमा पढ्न भनी गएकी निर्मलाको साउन ११ गते विहान नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । त्यसयता कञ्चनपुर मात्र नभई सिंगो देश आन्दोलित भएको छ ।