नेपाल प्रहरीद्वारा भारतमा अपहरणमा परेका नेपालीहरुको सकुशल उद्दार
सन्दिप योगी
प्रकाशित २०७५ असोज १४ आइतबार
502
Shares
बर्दिया । घटना अचम्मको छ । पोल्ट्री व्यवसाय गर्ने केही व्यवसायीहरु बर्दिया जिल्लाको गणेशपुर चौकिबाट १ किलोमिटर दक्षिणको गाउँमा गएका थिए । जानुको कारण थियो – अवैध रुपमा भारतबाट नेपालतीर बोइलर कुखुराको तस्करी कसरी भैरहेको छ भनेर बुझ्न ।
बुझ्न गएका ९ जना पोल्ट्री व्यवसायीले गणेशपुरका स्थानियसंग कसरी कुखुराहरु तस्करी हुन्छन भनी बुझ्दै गर्दा उक्त स्थलमा भारतिय नागरिक आइपुगे र उनले भने – हिँड मुख्य तस्करी कसरी कहाँबाट हुन्छ देखाईदिन्छु । त्यसपछि ९ जना नजिकै जोडिएको भारतिय बजार भित्र कुखुरा किलोको कतीमा पाइँदो रहेछ भनेर बुझ्न गए ।
उक्त समुहका रविन गुरुङले कुरा गर्दै भने ‘हामी बिश्वासमा पर्यौं किनभने उक्त ब्यक्तिलाई वर्दिया जिल्लाको सदरमुकाम गुलरीया बजारमा देखिरहेकोले सहयोग गर्न लगेको होला भनेर गयौँ तर उक्त ब्यक्तिनै तस्करसंग मिलेको रहेछ । हामीले भारतिय सिमा काटेर अलिक अघि के बढेका थियौ । त्यहाँ त भाला, हँसिया, लठ्ठी लगायतका हतियार लिएर बसेका करीब ५०–६० जनाले घेरा हालेर हातपात गर्न लागे तर नजिकै रहेको सिमा सुरक्षा बल मुकदर्शक भएर बस्यो । हामी ९ जना मध्येमा ५ जना भाग्यौं तर ४ जनालाई उनिहरुले नियन्त्रणमा लिएर हातपात गरे ।’
बर्दिया जिल्लाको गुलरीया नगरपालीकामा बस्ने रबिन गुरुङ लगायत अरु ४ जना नजिकै रहेको धानबारी हुँदै भागे ।
गुरुङका अनुसार करीब २० मिनेट धानबारीमा लुकेर खेतै खेत भागेर गणेशपुर चौकिमा पुगेर सबै घटना भनेपछि तुरुन्तै प्रहरी परीचालित भएको थियो र भागेका सबैको उद्दारको लागी खोजी गरिएको थियो ।
भागेका मध्यका सबै सम्पर्कमा आएपछि भारतीय नियन्त्रणमा परेका ४ जनालाई बर्दिया जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीको पहलमा गणेशपुर प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक धर्म केसीले आफै गएर नेपालीलाई सकुशल फिर्ता ल्याएका हुन ४ नेपालीको झोलामा गाँजा चरेस र नुर्फिन भेटिएको भनेर मुद्दा लगाउने तयारी भएको स्रोतले भन्यो ।
स्रोतका अनुसार प्रहरीले कडाई गर्दा गर्दै पनि भारतबाट क्विन्टलका क्विन्टल कुखुराहरु भारतीय नाका हुँदै नेपाल छिराइन्छ । पछिल्लो समयमा प्रहरीले भारतबाट अबैध रुपमा नेपाल ल्याइने कुखुराहरु धमाधम पक्राउ गर्न लागेपछि चोर नाकाबाट ल्याइने गरिएको छ ।
भारतबाट ल्याइने एक किलो कुखुरामा करीब ८० देखि १०० रुपैयाँ सस्तो पर्न जान्छ जस्का कारण नेपाली पोल्ट्री फर्महरु बन्द हुने अवस्थामा पुगेका छन भने कति ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।
स्रोतका अनुसार भारतीय तस्करले मोटो रकम बुझाएर भारतिय सिमा सुरक्षाबलसंगै मिलेर तस्करीको धन्दा चलाएका छन जस्का कारण नेपालतीरका जनताहरु बर्ड फ्लुको संक्रमणमा पर्ने खतरा पनि उस्तै छ ।
यता नेपाल प्रहरीले समयमै अपहरणको शैलिमा तस्करहरुले समाएर राखेका नेपालीहरुलाई नछुटाएको भए चोरी या महिलामाथि दुर्व्यवहारको मुद्दा लगाउने तयारी भारतिय पक्षले गरेको स्रोतको भनाइ छ ।
ज्यान बचाएर भागेका सबै सकुशल रहेका छन । उनिहरुले प्रहरीले आफुलाई बचाएकोमा आँखाबाट आँसु निकाल्दै धन्यबाद दिएका थिए ।