सरकारको अक्षमता छोप्न नेकपाभित्र नेताहरु बीच जुहारीको नाटक !
त कुटेजस्तो गर, म रोएजस्तो गर्छु
हाम्राकुरा डेस्क,
प्रकाशित २०७५ असोज १४ आइतबार
302
Shares
काठमाडौं । पछिल्लो समयमा नेकपाका नेता एवं सांसदहरुले सरकारको कामकारबाहीको आलोचना सुरु गरेका छन्। नेकपाका नेता एवं पूर्व प्रमको संसदमा गरेको प्रश्नको उत्तर प्रम केपी ओलीले अमेरिकाबाट 'नआत्तिन भन्दै' दिएका छन्।
पूर्व प्रम माधव नेपाल, सांसद विरोध खतिवडाले निजगढको रुख काट्ने हतारो प्रति शंका व्यक्त गरेका छन्। नागरिक उड्डयनमन्त्री रवीन्द्रअधिकारीको निजगढ बनाउन देखाएको हतारो रुख काट्न मात्र हो भन्ने तर्फ नेपाल र खतिवडाले शंका गरेका थिए।
त्यसैगरि सामाजिक संजाल ट्विटरमा नेकपाका नेता योगेश भट्टराई र प्रमका सल्लाहकार बिष्णु रिमाल बीच जुहारी चलेको छ।
प्रभावशाली नेता योगेश भट्टराईले भने सत्ता र शक्तिको दुरुपयोग गर्ने विरुद्ध कटाक्ष गरेका छन् ।
विष्णु रिमाल लेख्छन् –“मानिसको पतन त्यस समय सुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन सुरू गरिन्छ ।’”
योगेश भट्टराइ लेख्छन्, –‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन् ! कठै दोषी चस्मा !’
दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको रवैया बढ्दै गएको भन्दै तेस्रो वरीयताका वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षको हालीमुहाली बढेको र सरकारले अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै स्थायी कमिटि बैठकको माग गरेका छन्।
यसैक्रममा सामाजिक सञ्जालमा कार्यकर्ताहरु पनि विभाजित भएको प्रष्ट देख्न सकिन्छ र दुई पक्षका पत्रकार पनि विभाजित भएको देखिन्छ ।
यसरी एक भएको थोरै समयमै नेकपा भित्र विवाद देखिनु राष्ट्रका लागि सुखद संकेत पक्कै होइन। यस्तो शक्तिशाली र जनताले विश्वास गरेको पार्टीले काम गर्छ र देशलाई सही बाटोमा लान्छ भन्ने तर्क सरकारको जनता प्रतिको उदासीनताले आफैं काट्दै गएको छ।
कतै सरकारको अक्षमतालाई लुकाउन र देशमा उठेका महत्वपुर्ण मुद्दाहरुबाट जनताको ध्यान हटाउनकालागि कतै पार्टी भित्र मत विभाजन भएको नाटक त होइन भन्ने शंका गर्नेहरु पनि बिस्तारै अगाडी आइरहेका छन्।
सरकारले चुनावमा गरेका वाचाहरु पूरा गर्न नसकिरहेको, सडक-पुल निर्माणमा भएका ढिलासुस्तीमा कुनै कारबाही गर्न नसकेको, बलात्कार- हत्या र महिला हिंसाप्रति सरकार उदासीन देखिएको लगायत धेरै गर्न पर्ने कामहरु गर्न नसकेको भन्दै जनस्तरबाट सरकारको आलोचना हुन थालको छ।
जनताका दैनिक आवश्य्ता बस्तुहरुमा बजार मुल्य आकासिको छ, इन्धनको भाउ बढेको बढेकै छ। बजारमा सरकारको उपस्थिति न्युन छ। बाटो, खाने पानी, ढलको अवस्थामा कुनै सुधार देखिन्न, शहरी क्षेत्रहरुमा धुलो-धुँवा-फोहोरले आक्रान्त छ।
यस्ता कुराहरुले जनतामा नैराश्यता पैदा हुँदै गैरहेको छ। यस्ता नगरी नहुने कामहरु गर्न छाडेर सरकार मेट्रो रेल, पानी जहाजको कुरा गर्नमा ब्यस्त छ । यस्तो कुराहरुले नैराश्यतासँगै आक्रोश ल्याउनु स्वभाविक हो।
बुढीगण्डकी, निजगढ, वाइड बडी विमान खरिदलगायतमा पनि सरकार विवादमा आएको छ। यस्तै आफ्नो अक्षमताका कारणले विवादले घेरिएको सरकारलाई यी सबै मुद्दाबाट जनताको ध्यान हटाउनका लागि कुनै किसिमको प्रपोगण्डाको आवश्यक्ता थियो जुन नेताहरुले जुहारी खेलेर पूरा त गरिरहेका छैनन्।
कंचनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा सरकार अपराधी पत्ता लगाउन असक्षम भएको र देशभरीबाट निर्मलाका निम्ति न्याय भन्दै आवाजहरु गुन्जिरहेको बेला सकसमा रहेको सरकारले प्रपोगण्डा गर्दै ध्यान मोड्न पार्टी भित्र विवादको खेल रचेको त होइन ? सबै जना सचेत हुनु पर्ने राजनीतिक विश्लेषकहरु बताउँछन्।
सरकारका गृहमन्त्री बलात्कार र महिला हिंसा जस्तो संवेदनशील बिषयमा हल्का टिप्पणी गर्दै हिडिरहेका छन्। कहिले पुँजीवादले बलात्कार बढायो भन्छन भने कहिले बलात्कार सरकार ढाल्ने षडयन्त्र भन्छन्। यसरी गृहमन्त्री हल्का भएको देखैर सरकारविरुद्ध महिलाहरुको आक्रोश दिनदिनै बढ्दै गएको छ।
बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण ठेक्का पहिले केपी ओली सरकारले रद्द गरेको र फेरि आफैंले किन त्यही अक्षम भनिएको कम्पनीलाई ठेक्का दिनपर्ने स्थिति आयो ? कसको दबाबमा काम गर्छन् प्रम ओली भन्ने प्रश्न पनि उठेको छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि काट्न पर्ने रुखमा सरकार र मन्त्रीको बढी ध्यान देखिएको कुराले पनि सरकार बदनाम हुँदै गएको र विमान खरिदमा पनि अनियमितताको कुरा लेखा समितिसम्म पुगिसकेपछि सरकारले आफ्नो छवि बचाउनका लागि पार्टी भित्र ' त कुटेजस्तो गर म रोएजस्तो गर्छु'को शैली अपनाएको त होइन कतै ?
सरकारका अक्षमता लुकाउनका लागि पूर्व प्रम माधव नेपाल पनि प्रयोग भएका हुन् भने यो देशका लागि दुर्भाग्यपूर्ण हुनेछ । यसरी सरकारको बचाउ गर्न पार्टीपंक्ती पुरै लागेर जनताको ध्यान प्रमुख मुद्दाहरु (विकास, समाजिक) बाट मोड्ने प्रयास हो भने देश र समाजले आफ्नो बाटो आफैं तय गर्छ र उक्त बाटोमा समाज हिँड्न थाल्यो भने सरकार र नेकपा धेरै पर छुटिसकेका हुनेछन्।