काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त हत्या ढाकछोप गर्न सक्रिय बनेको गम्भीर आरोप लागेका तत्कालीन कन्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट, छोरा किरण र भीमदत्तनगरका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको डिएनए रिपोर्ट मेल खाएन ।
यद्यपि, प्रहरी अझै गम्भीर नभएको देखिएको छ । प्रहरीले जानेर वा वास्ता नगरेर फेरि पनि पूर्वाग्रह राखेको छ । यसअघि डिएनए गराइएका दिलिप विष्टको डिएनए रिपोर्ट सरकारी वकिलको रोहवरमा खोलेको कञ्चनपुर प्रहरीले एसपी विष्टसहित तीन जनाको रिपोर्ट आफै खोलेको छ । त्यो पनि कार्यालय समयभन्दा पहिले नै ।
सरकारी वकिलको रोहवरमा खोलेको भए निर्मलाको डीएनएसँग मेल खान्थ्यो, प्रहरीले आफैले हेरेकोमा नमिलेको भन्न खोजिएको होईन । तर, प्रहरीको पूर्वाग्रह देखियो । दिलिपको खोल्दा सरकारी वकिलको रोहवरमा खोल्ने अनि आफ्नै प्रहरी अधिकारीको डीएनएको सिलबन्दी प्रहरीले आफै खोल्ने ? यो के पूर्वाग्रह होईन ।
यस्ता साना साना गल्तीले निर्मला हत्याको अनुसन्धानमा प्रहरी नराम्ररी बद्नामित भएको छ । हुन त सरकारी वकिलले केन्द्रबाट पठाएको रिपोर्ट अनुसन्धान अधिकारीले खोल्न पाउँछ, भन्छन् । तर, निर्मला हत्याको सन्दर्भमा त्यो लागू हुँदैन । पहिले एक जनाको रिपोर्ट सरकारी वकिलको रोहवरमा खोलेर अदालतमा पेश गरिएकामा अहिले प्रहरीले आफै किन खोलेको ? यसले शंका गर्ने ठाउँ रहन्छ ? तर, प्रहरीले डीएनए रिपोर्ट लुकायो भन्ने शंका होइन । प्रहरीले निर्मला हत्याका दोषी खोज्न तत्परता देखाएकै छैन, प्रहरीले हत्यारा चिनिरहेको छ । पक्राउ गर्ने आँट गरिरहेको छैन भन्ने प्रश्न उठ्छ । प्रहरीको यो पछिल्लो हर्कतले त्यो पुष्टी गरिदिएको छ ।
शंकाको ठाउँ अरु पनि छन् । गृहमन्त्रालयको छानविन समितिको काम, निलम्बित डीएसपीले ढुक्कसँग डीएनए ठूलो प्रमाण हो, अरु किन चाहियो भनि सञ्चारमाध्यममा अन्तर्वार्ता दिनु । उच्चस्तरीय छानविन टोलीका एक सदस्यले ज्यान मार्ने धम्की आयो भन्दै राजीनामा दिनु । फेरि त्यही समितिमै फर्किएर प्रतिवेदन तयार पार्नु । प्रतिवेदन गृहमन्त्रीलाई बुझाएपछि निर्मलाले न्याय पाउनेमा ढुक्क छु, नभए हामीले लेखेको प्रतिवेदनको एक कपि मसँग छ, भन्नुले शंका जन्माउँदैन र ?
यहीनेर अघिल्लो दिन प्रहरीले केही डरका साथ सरकारी वकिलको रोहवरमा डीएनए रिपोर्ट खोल्ने भनेको थियो । भोलिपल्ट आइतबार बाहिर माहोल बुझेर प्रहरीले ९ बजे अघिनै त्यो रिपोर्ट खोलिदियो । बाहिर भन्यो सरकारी वकिलको सल्लाहमा खोलेको भनेर ।
तीनै जनाको डिएनए नमिलेको कन्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण ओझाले बताए । उनैले भने, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमै रिपोर्ट खोल्दा तीनै जनाको मेल खाएन । प्रहरीले भदौ ४ गते दोषी भनेर भिमदत्त पन्त नगरपालिका १९ का ४१ बर्षीय दिलिप बिष्टलाई सार्वजनिक गरेको थियो। स्थानीयले दिलिप निर्दोष रहेको भन्दै आन्दोलन चर्काएपछि दिलिपको डिएनए जाँच गरिएको थियो । दिलिपको डिएनए मेल नखाएपछि सुरुदेखि अनुसन्धानमा लापरवाही गरेको, प्रमाण नष्ट गरेको र निर्दोषलाई दोषी दोषी सावित गर्न खोजेको भन्दै निर्मलाका आफन्त र स्थानीले एसपी विष्टकै डिएनए जाँच गर्नुपर्ने माग गरेका थिए ।
भदौ २८ गते एसपी बिष्ट, उनका छोरा किरण र अर्का युवक आयुष बिष्टको डिएनए परीक्षण गर्न प्रहरीको बिधी बिज्ञान प्रयोगशाला पठाइएको थियो । प्रहरीले हिरासतमा नलिई तीन जनाको अनुमतिमा रगत लिएर डिएनए परीक्षणको लागि पठाएको थियो । हिरासतमा नलिएकाले प्रहरीले स्थानीयको दाबाबका कारण डिएनए परीक्षणका लागि नमुना पठायो ।
अनुसन्धान झन् जटिल
निर्मलाको हत्या भएको २ महिना कटिसकेको छ । एकपछि अर्को श्रखृलाबद्ध ८ वटा छानविन समिति बने । प्रहरीले अहिलेसम्म कुनै ठोस तथ्य फेला पार्न सकेको छैन । गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले दिएको रिपोर्ट गृहमन्त्रालयमा छ । रिपोर्ट बुझेपछि गृहमन्त्रीले घरि पुँजीवादले बलात्कार बढ्यो भन्छन्, घरि सरकार ढाल्ले षड्यन्त्र हो भन्छन् ।
कञ्चनपुर विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको बताइरहेको छ । तर, उपलब्धी शून्य छ । न्याय माग्न काठमाडौं पुगेका आमा दुर्गादेवी र बाबु यज्ञराज प्रधानमन्त्रीको आश्वासन लिएर फर्किएको पनि कयौँ हप्ता भइसक्यो ।