राम्रो छैन भन्दा भन्दै सरकारकै दवावमा चिनियाँ विमान ?
प्रकाशित २०७५ असोज १५ सोमबार
998
Shares
काठमाडौं । नेपाल वायुसेवा नियमको यथार्थ बताउँदा बताउँदै पनि सरकारकै दबाबमा चिनियाँ विमान आयात भएको पाइएको छ । निगमले चिनियाँ विमानको राम्रो अवस्था नदेखेपछि सरकारलाई पत्रमार्फत पहिला भनिएको जस्तो विमान नपाइएको जानकारी गराएको थियो ।
निगमले उक्त चिनियाँ विमान नेपालमा उडान गर्न उपर्युक्त नभएको पत्र सरकारलाई पठाएको थियो । चीनले सम्झौताबमोजिम २०७१ वैशाखमा पहिलो एमए–६० र कात्तिकमा वाई–१२ई विमान अनुदानस्वरुप दिएको थियो । तर केही समयपछि सो विमानमा चरा ठोक्किएको थियो । यो विमान विराटनगरमा १५ दिन ग्राउन्डेड भएको थियो ।
निगममा दोस्रो कार्यकालका लागि फर्किएका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार निगमले विमानको सपोर्ट सिस्टम राम्रो नपाएपछि अब भने विमान आयात रोक्नुपर्छ भनिएको थियो ।
निगमले यसरी पहिलो चरणमा आएको विमानमा समस्या देखिएपछि सरकारी तहबाटै विमान आएको थियो । यसकारण सरकारी तहबाटै वार्ता गरेर समस्याको समधान खोजियोस् भन्दै मन्त्रालयलाई अवगत गराएको थियो ।
निगमले चिनियाँ विमान सञ्चालन गर्न नसक्ने अवगत गराएको थियो । यससँग सरकारले चिनियाँ टोलीसँग पटकपटक वार्ता गरेको थियो । अन्ततः फेरि चीनले सस्तो ऋणमा सरकारलाई चार विमान दिने नै निर्णय भएको थियो ।
विकल्प हुँदाहुँदैसमेत सरकारको दवावमा कामै नलाग्ने विमान भित्र्याउनुले भने ठूलै चलखेल रहेको बुझ्न गार्हो छैन । वार्षिक रुपमा निगमलाई चिनियाँ विमानबाट ३५ करोड रुपैयाँ भन्दा बढी घाटा रहेको बताइन्छ ।
निगमले सहुलियत ऋण र अनुदानमा पाएको चिनियाँ विमान निगमको लागि घाटा बढाउने माध्यममात्र भएको छ ।
के के आए चीनबाट ?
नेपाल र चीनबीच विस २०६९ मंसिर १४ गते २ वटा विमान अनुदान र ४ ओटा विमान सहुलियतपूर्ण ऋणमा लिने सम्झौता भएबमोजिम भित्राएको थियो । वार्षिक १ दशमलव ५ प्रतिशत सहुलियत ऋणमा निगमलाई एक्जिम बैंकमार्फत ऋण प्राप्त भएपछि निगमले विमान खरिद गरेको थियो ।
उक्त बैंकले निगमलाई कुल रकमको ६ अर्व ६७ करोड १० लाख रुपियाँमध्ये करिब तीन अर्व ५१ करोड ऋण दिएको थियो ।
२०७३ मा अर्को एमए–६० र एउटा वाइ–१२ विमान ल्याइएको थियो । चीनको हार्विन एयरक्राफ्टले निर्माण गरेको वाइ–१२ ई सिरिजका दुइटा विमान कम्पनीकै पाइलटले उडाएर सम्झौताको लामो समयपछि २०७४ साल फागुन १ मा नेपाल ल्याइएको थियो ।
विमान प्राविधिक कारण ग्राउन्डेड हुँदै आएको छ । तराईमा उडान भरिरहेको ५६ सिटको एमए–६० लामो समयदेखि ग्राउन्डेड छ । अर्को एमए–६० ले आइतबारबाटै उडान गरेको छ ।