काठमाडौं । काठमाडौं जिल्ला अदालतले स्वघोषित अवतारी लामा रिम्पोर्छे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामालाई जवरजस्ती करणी मुद्धामा सफाई दिएको छ । न्यायाधीश मुकेश उपाध्यायको एकल इजलासले सिन्धुली कुशेश्वर दुम्जा–९ का लामालाई जबरजस्ती मुद्धामा ठोस प्रमाण नपुगेको भन्दै सफाई दिएको हो ।
सोही इजलासका नायब सुब्बा पुर्ण निरौँलाले लामालाई सोमबार न्यायाधीश उपाध्यायको इजलासले जबरजस्ती करणी मुद्धामा सफाई दिएको बताए ।जवरजस्ती करणी मुद्धामा सफाई पाएपनि लामालाई विद्युतीय कारोबार मुद्धामा भने कारबाहीको फैसला सुनाइएको छ ।
लामालाई उपाध्यायको इजलासले विद्युतीय कारोबार मुद्धामा दोषी ठहर गर्दै ५० हजार जरिवाना, वरामद सामग्री जफत र पीडितलाई १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भर्न आदेश सुनाएको हो ।
इजलासले विद्युतीय कारोबार मुद्धामा लामालाई सहयोग गर्ने मनिष लामालाई पनि दोषी ठहर गर्दै २० हजार जरिवाना सुनाएको छ ।
स्वघोषित लामाकै आग्रहमा मनिसाले पीडितको अश्लिल चित्रित सामाग्री गुम्बाको नाममा खोलेको फेसबुक पेज र अकाउन्टमा राखेकी थिइन । इजलासले लामा र मनिसाले प्रयोग गर्ने मोबाईल फोन समेत जफत गर्ने फैसला सुनाएको छ ।
इजलासको यस्तो आदेशसँगै लामा ११ महिनापछि अदालती प्रकृया सम्पन्न गरेर छिट्टै थुनामुक्त हुनेछन् ।
महिलाहरुलाई धर्मको आडमा डर त्रास देखाई ९ वर्षदेखि यौनशोषण गर्दै आएको विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गत बर्षको मंसिर ५ गते गुम्बाबाटै पक्राउ गरी जबरजस्ती करणी र विद्युतीय कारोबार मुद्धामा कारवाहीकालागि अदालतमा पेश गरेको थियो ।
लामाको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेल, बोशनस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ नामको गुम्बा रहेको छ । लामाले १० वर्षदेखि गुम्बा संचालन गर्दै आएका थिए ।
लामाले जुनसुकै रोग निको पार्न सक्ने आफूसँग दैवी शक्ति रहेको भ्रममा पारी उपचार गर्न आउने महिलाहरुलाई यौन शोषण गर्ने गरेको आरोप लागेको थियो ।