arrow

प्रचण्ड–माधव नेपालको सत्ता चलखेल

logo
प्रकाशित २०७५ असोज १६ मंगलबार
makune-and-prachand.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र आन्तरिक किचलो चुलिएसंगै अध्यक्षमध्येका एक पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल सत्ता चलखेलमा लागेका छन् । 

दुई अध्यक्ष मध्येका एक तथा प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढंगमा चलेको आरोप लगाउँदै उनीहरु सत्ता चलखेलमा लागेको उच्च स्रोत बताउँछ । ओली सरकारले सत्ता बाहिर रहेका नेकपाका नेताहरुलाई पेलेको र पार्टीभित्र पनि यथोचित सम्मान नदिएको आरोप लाग्दै आएको छ । 

पार्टी नमिलाउने हो भने निकट भविष्यमै प्रचण्ड र नेपाल पक्षले छुट्टै पार्टी गठन गर्न सक्ने बताइन्छ । तर ओलीले मिलाएर लैजान सके यो कदम रोकिन सक्ने बुझिन आएको छ । 

ओलीले नेतृत्व हस्तान्तरण गर्न सक्ने सम्मको आँकलन पनि गर्न थालिएको छ । आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेकपामा विशेषगरी पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ । 

पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट माधव नेपालले संसद् बैठकमा आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेपछि सुरु भएको घोचपेच राजनीतिमा दोस्रो तहका नेतासमेत जोडिन पुगेका छन्।

संसद् बैठकमा नेता नेपालले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गर्दै देश डुब्न लागेको बताएका थिए। त्यसको जवाफमा संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले ‘म केही दिनका लागि संयुक्त राष्ट्रसंघतिर आएँ, केही नेताले लौन देश डुब्न लाग्यो, कोही त आऊ बचाऊ भनेको सुनियो । म फर्केर गइहाल्छु, त्यो समस्याको कुरा होइन।’ भनी उल्टै ब्यग्य कसेका थिए । 

ओलीको यो भनाइले झन् अरिंगालको गोलोमा लौरीले जिस्क्याएको जस्तो माधव नेपाल पक्षलाई भएको छ । घोचपेचको यही शृंखलामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र नेपाल निकट स्थायी कमिटि सदस्य योगेश भट्टराई पनि जोडिए । 

रिमालले नेता नेपाललाई लक्षित गर्दै ट्विट गरे, ‘मानिसको पतन त्यस समय सुरु हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसँग सल्लाह लिन सुरु गरिन्छ।’ 

जवाफमा भट्टराईले १३ असोजमा ट्विट गरे, ‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन्। कठै दोषी चस्मा !’

घोचपेचको सुरुआत कसरी भयो ? 
पार्टी एकीकरणका बेलामा झलनाथ खनाल उपचारको नाममा चीन गएपछि माधव नेपाल सक्रिय भए । नेपालले नै प्रचण्ड र ओलीलाई एक ठाउँमा ल्याए । नेपाल ओलीसंग चिढिएको लामै समय भएको थियो ।

ओलीको घोचपेचले पहिलेदेखि नै वाक्क बनेका नेपालले ओलीलाई साइजमा ल्याउन पनि प्रचण्डसंग हिमचिम बढाएका थिए । त्यही हिमचिमले नेपालले काठमाडौं क्षेत्र नम्बर २ बाट फराकिलो मतान्तरले प्रतिनिधि सभा चुनाव जिते पनि । 

त्यसपछि प्रचण्डसंग झनै नजिकिएका नेपालको एउटै लक्ष्य थियो पार्टी एकता गर्ने र ओलीलाई पछार्ने । त्यही गन्तव्यमा अहिले लागिरहेका छन् । 

वैदेशिक चलायमान 
प्रचण्डले त्रिकोणात्मक भ्रमण त्यसै गरेका हैनन् । प्रचण्ड पहिले सिंगापुर अनि भारत र त्यसपछि चीन गएका थिए । उनले सत्ता चलखेल गरिरहेको विभिन्न स्रोतहरु बताउँछन् । 

प्रचण्ड दुई पटक सिंगापुर गइसकेका छन् । एकातिर उनकी पत्नी सीताको उपचार र अर्कातिर राजनीतिक चलखेलका लागि सिंगापुर गएको बताइन्छ । उनले भारतसंग आफूलाई स्वीकार्न र चीनसंग प्रो–इन्डियनको दाग नलगाउन गएका थिए । 

त्यसैगरी नेपाल पनि विदेशमा जाने आउने गरिरहेका छन् । अहिले चीनमा रहेका नेपालले पनि आफूलाई ‘शक्तिशाली’ बनाइदिन जपिरहेको बताइन्छ । 

यद्यपि ओली पनि कोस्टारिकाबाट फर्कदै गर्दा फेरि एकपटक राजनीतिले तरंग ल्याउने अनुमान गरिन्छ । तर ओलीले सबै नेतालाई एक ठाउँमा राखेर असमझदारीको मयल पखाल्छन् भन्ने विश्वास पनि गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ