गान्धीले नगर्नु भनेका ७ पापको बाटोमा नेपाल, शासकहरु घृणालाई मलजल गर्दै
प्रकाशित २०७५ असोज १६ मंगलबार
298
Shares
काठमाडौं । अक्टुबर २ लाई विश्वभर अहिंसा दिवसका रुपमा मनाइन्छ । यही दिन महात्मा गान्धीको जन्मदिन पनि पर्छ ।
विश्व हिंसात्मक धारामै रहेकामा अंहिसावादीहरु चिन्तित छन् ।
अहिंसावादी अभियन्ता एवं मानवअधिकारकर्मी कृष्ण पहाडीले महात्मा गान्धी अहिंसाको सम्पूर्ण पर्याय होइन भने । तर, उनले महात्मा गान्धीले पछिल्लो कालखण्डमा अहिंसाको माध्यमबाट नै राजनीतिक परिवर्तन सुनिश्चित छ, बाटो भने प्रष्ट पारिदिएको बताएका छन् ।
उनले अगाडि भने, ‘अहिंसा नै सारा शक्ति हो भन्ने प्रयोग गर्नुभयो, सावित गर्नुभयो । त्यसैले भारत स्वतन्त्रताका लागि महात्मा गान्धीको जुन योगदान छ, त्यो अहिंसाको धारासँग जोडिएको छ ।’
यस्तै, पहाडीले गान्धीले ७ वटा पापबाट जगत जोगिनुपर्छ भनेपनि समाज त्यतातिर नलागेको बताए । नेपालको हकमा त अझै दुदर्शा रहेको उनको भनाई छ । उनले नेपाल गान्धीले भनेका सात पापतिरै गएको बताए । गान्धीले सिद्धान्तविहिन राजनीति, चरित्रहीन ज्ञान, विवेकहिन सुखको कुरा, त्यागहिन पूजा, श्रमहिन सम्पत्ति, मानवताहिन विज्ञान र नैतिकताहिन व्यापारबाट बच्नुपर्छ, भनेको उनले सुनाए ।
पहाडीले गान्धीले घृणालाई कहिल्यै महत्व नदिएकाे बताउँदै, नेपाल त्यही घृणाको धारामा बगेको भनी टिप्पणी गरे । उनले यो पनि भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा अहिंसाबारे दुई शब्द नबोल्नु, सुझाव दिँदा दिँदै, भन्दा भन्दै संविधानमा अहिंसाको एउटा धारा नराख्नु नेपालका लागि आश्चर्यजनक छ । भोलि संविधान सुधार नभए समाज कता जान्छ भन्ने ठूलो प्रश्न छ ।’ उनले शासकहरु घृणालाई मलजल गरिरहेको पनि बताए ।
अहिंसा दिवसको आह्वान कसरी भयो ?
२ अक्टुबरलाई अहिंसा दिवस मनाउनुपर्छ भनेर संयुक्त राष्ट्र संघले सन् २००७ देखि यो घोषणा ग¥यो । ११ वर्ष अघि अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाउन सुरु भयो । महात्मा गान्धीको जन्म दिन २ अक्टुबरमा पर्दछ । त्यही पृष्ठभूमिमा यो दिवस मनाउन सुरु भयो ।
संसारभरि नै सद्भाव र सहिष्णुताको मूल्यको जर्गेनाका लागि आह्वान गर्दै विभिन्न कार्यक्रमसहित यो अहिंसा दिवस मनाइन्छ । अहिंसात्मक धारा भनेकै गौरवमय धारा हो । गौरवमय धारा, अहिंसा र सद्भाव भन्ने नारा हाम्रो शान्ति समाजले तय गरेको हो । सद्भावलाई हटाएर अहिंसाको कल्पना गर्न सकिन्न । घृणाको धाराले हिंसालाई जन्माउँछ, अहिंसात्मक धाराले चाहिँ गौरवमय जीवनलाई सार्थकसिद्ध पार्दछ ।