हिंसात्मक बाटोबाट प्राप्त उपलब्धि धेरैदिन टिक्दैन : देउवा
महात्मा गान्धीको १५०औं जन्मजयन्ती
प्रकाशित २०७५ असोज १६ मंगलबार
814
Shares
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले हिंसाको बाटोबाट प्राप्त उपलब्धि धेरै दिन नटिक्ने दाबी गरेका छन । १५०औं गान्धि जयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृती प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै देउवाले ढिलो चाडो जे भएपनि अहिंसाको बाटोबाट आएको उपलब्धि नै दिगो हुने बताए ।
‘हिंसात्मक आन्दोलनबाट प्राप्त उपलब्धि दिगो हुँदैन, ढिलोचाडो जे भए पनि अहिंसाको मार्गबाट प्राप्त उपलब्धि नै दिगो हुन्छ,’ देउवाले भने, ‘भारतमा महात्मा गान्धीले त्यसैगरी अंग्रेज शासनको अन्त्य गरेर बलियो लोकतन्त्र ल्याए ।’
कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेपालमा लोकतन्त्र स्थापनाका लागि भारतले सहयोग गरे जस्तै भारतको स्वतन्त्रताका लागि पनि नेपालले योगदान गरेको बताए । ‘नेपाल सानो मुलुक होइन, दुई ठूला देशका बिचमा भएर सानो मानिएको हो, भारतको आजादीका लागि नेपालले ठूलो योगदान दिएको छ,’ निधिले भने ।
उनले बन्दुक र हिंसाको राजनीति धेरै दिन टिक्दैन भन्ने शन्देस गान्धीले विश्वभर फैलाएको समेत जनाए । नेपाली कांग्रेसले विसं २००७ सालमा राणा बिरुद्धको आन्दोलन सुरु गरेर नेपालमा प्रजातन्त्रको जग बसालेको भन्दै निधिले क्रान्ति र परिवर्तनका लागि अहिंसात्मक आन्दोलन नै उत्तम हुने गरेको जनाएका हुन ।
महात्मा गान्धीको जन्मजयन्तीमा सहभागी हुन नेपाल आएका भारतीय जनता पार्टीका प्रवक्ता तरुण विजयले गान्धी नै विश्वमा अहिंसाका मार्फत सत्ता झुकाउन सक्ने नेतृत्व भएको जनाए ।
भारत र नेपाल बीचको सम्बन्धको सेतु गान्धी नै भएको भन्दै उनले विपि कोइराला र महात्मा गान्धी सत्याग्रह आन्दोलनमा एकसाथ जेल बसेकाले त्यसै बखतबाट भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गरेको जनाए ।
कांग्रेस आइका राष्ट्रिय सचिव चन्दनकुमारले लोकतन्त्र र गान्धी संसारमा नै उच्च नाम भएको उल्लेख गरे । उनले लोकतन्त्रलाई कमजोर बनाउन विश्वमा नै अनेक खेलहरु चलिरहेको भन्दै लोकतन्त्र बलियो बनाउन सबै प्रजातन्त्रप्रेमीहरु एक हुनु पर्ने बताए ।
कांग्रेस नेता प्रदिप गिरीले सत्यलाई दृष्टिबोध गर्ने नायक गान्धी भएको जिकिर गरे । उनले गान्धीको व्यक्तित्वमा अनेकन अन्र्तविरोधहरु भएपनि उनमा विचित्रको व्यक्तित्व भएको जनाए ।
कार्यक्रममा नेकपाका नेता घनश्याम भुषालले गान्धीलाई मार्कसवादी नजरबाट पनि हेर्नु पर्ने भन्दै किसान वर्गदेखि पूँजिपति वर्गसम्मले नेता मानेको व्यक्ति महात्मा गान्धी भएको जनाए ।
भारतीय राजदूत मन्जिभसिंह पूरीले विश्वमा नयाँ विचार दिन सक्ने खुबि भएका राजनीतिज्ञ गान्धी भएको जनाए । उनले राजनीतिक परिवर्तन र समाज परिवर्तनका लागि भारतमा मात्रै नभएर विश्वमा नै उच्च नेतृत्व प्रदान गरेको उल्लेख गरे ।
‘२१औँ शताब्दीको लोकतन्त्र र गान्धी’ विषयक अन्तक्रियाको सम्बोधनका क्रममा उनीहरूले गान्धीले दिएको शिक्षा र गान्धीको अहिंसाको पाटोका विषयमा धारणा राखेका हुन ।