काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली बिहीबार अमेरिका र कोस्टारिकाको भ्रमण सकी नेपाल फर्किदैछन् । ओली फर्किनुअघि नै ओलीले आफूमाथि खनिएका वरिष्ठ नेता माधवकुमार नेपाललाई के भन्ने हुन् भन्ने चासो ब्याप्त भएको छ ।
नेपालले गत असोज ११ गते संसद् समापनका दिन आफ्नै पार्टीको सरकारविरुद्ध आक्रमण गरे । सरकारका बेथिति ओकले । जनतालाई दुःख दिएको बताए । भ्रष्टाचार बढेको बताए । सुशासन नभएको बताए ।
यो टिप्पणीपछि नेकपाको राजनीतिमा एकाएक तरंग पैदा भएको छ । दोस्रो तहका नेताहरुबीच पनि टक्कर चल्यो । दुई तिहाइको बलियो सरकार आफ्नैले गर्दा हल्लिने स्थितिमा पुगेको आँकलन पनि गरिएको छ ।
पाँच वर्षका लागि कसैले आँखा नलगाए पनि हुन्छ भन्नेहरु अहिले टिक्दैन कि क्याहो भन्ने अवस्थामा पुगेका छन् । ओली विदेश लाग्दा पनि सुख पाएनन् । माधव नेपालको आक्रोशलाई ‘म विदेश भएर होला देश डुब्छ कि भनेको म फर्किन्छु र ठीक हुन्छ’ भन्दै ओलीले ठट्टा गर्न भ्याए ।
यसले अझै आक्रोशित पार्यो नेपाल खेमालाई । अनि चुप लागेर बसेनन् ओली पक्ष पनि । सरकार त्यसैगरी चलिरहेको छ । हत्या, हिंसा, बलात्कार बढिरहेकै छन् । यति हुँदा पनि विपक्षीले काम गर्न दिएन भन्छ सरकार ।
तर सबैभन्दा ठूलो दुस्मन त आफ्नै पार्टीका भएका छन् । ओलीले विपक्षीलाई अरिंगाल खनिएझैं खनिन आग्रह गरेका थिए । तर उनकै पार्टीका नेताहरु अरिंगाल बनेर खनिए ।
गलत सिकाए । त्यही खाल्डोमा परे । मौरी बन्न सिकाएका भए सम्भवतः यो पीडा खेप्नुपर्ने थिएन । दुःखको कुरा असन्तुष्टिको संवोधन गर्न ओली चुक्दै आएका छन् । भोलिका दिनमा पनि संवोधन हुने आशा छैन ।
तर ओलीको हेप्ने प्रवृत्ति हिजो जस्तो थियो त्यो यद्यपि छ । उनी सन्काहा प्रवृत्तिका भएको नेकपाभित्रै व्याप्त छ । पार्टी गठन गर्ने घोषणा भएको एक वर्ष पूरा भएको छ । केन्द्रमा एकता भएको साढे चार महिना नाघेको छ ।
तर अहिलेससम्म किन सबै क्षेत्रमा एकीकरण हुन सकेन ? अहिलेसम्मका गतिविधि सबै दबाबमा भएका हुन् । यसको जवाफ अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइसकेका छन् । नेताहरूको ‘प्रेसर’का कारण केन्द्रीय सचिवालयबाट प्रदेश कमिटीको नेतृत्वबारे निर्णय भएको प्रचण्डको भनाइ छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल र उनीनिकट नेताहरूले सचिवालयको पछिल्लो निर्णयको वैधानिकतामाथि सार्वजनिक रूपमै असन्तुष्टि जनाएपछि प्रचण्डले निर्णय गरिनुका कारण र पृष्ठभूमिबारे बुधबार मुख खोलेका हुन् ।
यसको मतलब दबाब छ । पार्टी विष्फोटको स्थितिमा छ । साम्य पार्न ओलीको व्यङ्ग्यले हैन मध्यमार्गीले काम गर्नेछ । तर त्यो छाँट ओलीमा पाइँदैन । उनले झम्टने र तह लगाउन बल प्रयोगसम्मको हैसियतमा आउन सक्ने एक नेपाल पक्षका नेताले भने ।
कतिपय नेताहरुले ओली अर्थात् नेतृत्वको विरोधमा आवाज उठाएका छन् । उनीहरु पनि कार्वाहीको भागेदार हुन सक्ने देखिएको छ ।
प्रचण्डले विवाद मिलाउने प्रयास गर्न खोजेको सन्देश मिडियामा दिएका थिए । ओली फर्केपछि किन केही नबोलेको भन्ने होला भनेरै प्रचण्डले त्यतिसम्म बोलेका हुन सक्छन् । त्यसबाहेक प्रचण्डको नियत पनि साफ नभएको नेपाल पक्षका नेताको भनाइ छ ।
अर्थात् नेकपाभित्र वाक्स्वतन्त्रता छैन । नेताहरु आपसमा बाझिएका छन् । विचार बाझिएको छ । शक्ति बाझिएको छ ।
भलै चाडबाडमा के मन कुँडाउनु भनेर ओलीले आफैलाई धैर्यशाली किन नबनाउन् तर विपक्षी खेमा भने त्रासमै छ ।
यसकै फाइदा प्रचण्डले उठाउन सक्ने देखिएको छ । प्रचण्डले सर्वदलीय सरकारको अभ्यासमा लागेको चर्चा छ ।
बामदेव गौतमलाई चुनावमै हराएर अगाडि बढ्न नदिनु, नारायणकाजी श्रेष्ठलाई बाइपास गर्न खोजिनु र विष्णु पौडेललाई महासचिव दिएर ईश्वर पोखरेलहरुलाई रिसाउन हाल्नु लगायतका काण्डले नेकपा विष्फोटकै गतिमा लम्किएको छ ।