घाँटीमा जुस गयो, मुख टर्रो भयो, पुलुक्क हेर्दा अनुपराजलाई देखे !
यमुना भण्डारी,
प्रकाशित २०७५ असोज १८ बिहिबार
370
Shares
काठमाडौं । अहिल सिंगो मुलुक कञ्चनपुरकी निर्मला पन्तको न्यायका लागि न्याय मागिरहेको छ । सरकार अनेकन वक्तव्यबाजी गरिरहेको छ । न्यायिक एवं सामाजिक एउटा मुद्दा आउँदा अर्को मुद्दा ओझेलमा पर्छ । ४६औँ दिनमा असार २९ गते अनसन तोडेकी गोरखा फुजेलकी गंगामाया अधिकारीबारे सरकार फेरि मौन, छ । चितवन जिल्ला अदालतले गंगामायाका कान्छा छोरा कृष्णप्रसादको हत्यामा संलग्न भनिएका १३ मध्ये १२ जनालाई सफाई दिएपछि सरकारलाई झन् हाइसन्चो नै भयो ।
असार २९ गते सरकारले दुई बुँदे सहमति गरेपछि गंगामायाले अनसन स्थगित गरिन् । जेठ १५ गतेदेखि अनसनमा बसेकी अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएका हुन् । त्यो बेला कानुनमन्त्री रहेका शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र दिइएको थियो । तत्कालीन मन्त्री तामाङले गंगामायालाई न्याय दिने बचन दिए ।
त्यो पत्रमा २०७१ असोज ३१ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको क्याविनेटका मन्त्री नरहरि आचार्यले अनसन तोडाउँदा गरिएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने उल्लेख छ । त्यो दुई बुँदे दिने मन्त्रीनै पदमा रहेनन् । जसै जसै तामाङ क्याविनेटबाट बाहिरिए, गंगामायालाई न्याय दिन गरिएको प्रतिवद्धता पहिलेझैँ थन्कियो । प्रतिवद्धता अनुसार नै अनुगमन समिति बन्यो । प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेका प्रतिनिधि रहेको अनुगमन समिति बनाउने कुरा पत्रमा उल्लेख थियो ।
त्यो बेला गंगामायालाई अनसन तोडाउन गएका अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले, ‘गंगामायाले यो १० दिनमा केही प्रगति भएन भने म फेरि अनसन बस्छु भन्नु भएको छ’ भनेका थिए । गंगामायाको अनसन तोडियो । तर, त्यो दश दिन आएन । पछि एकै पटक गंगामायाकहाँ आरोपी १३ मध्ये १२ जनाले चितवन अदालतबाट सफाई पाए भन्ने खबर आयो । भदौ २४ गथते जिल्ला अदालत चितवनले फुजेल काण्डमा छविलाल पौडेलसहित १२ जनालाई सफाइ दियो । मुख्य न्यायधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाई दिने फैसला गरेको हो ।
यो सुन्दा गंगामाया झन् दुःखी भइन् । न्याय दिलाउने भनि सरकारले दिएको आश्वासन झुठा हो भन्नेमा प्रष्ट भइन् । असार २९ गते अनसन तोडेकी गंगामायाले भदौ २४ का साँझ १२ आरोपीले सफाई पाएको खबर सुनिन् । त्यसको भोलिपल्ट अनसन सुरु गरिन् । दुई दिन अनसन नबस्दै गंगामायाले भने अनुसार सम्भवतः कानून मन्त्रालयका सचिव आए । ती सचिवले कालो चिया खुवाए । गंगामायाले भनिन्, ‘७ जना हुनुहुन्थ्यो उहाँहरु । ति सचिवले हामी पुनरावेदन गर्छौ । हामी मन्त्रीको सपोर्ट गर्दैनौँ । कर्मचारीको रुपमा काम गर्छौँ न्याय दिन्छौँ । उच्च अदालतमा अपिल गर्छौ र त्यहाँबाट नभए सर्वोच्चमा अपिल गर्न तयार छौँ भन्नु भयो ।’
गंगामायाले त्यसक्रममा सचिवलाई म एक डेढ महिना कुर्छु भनिन् । तर, अब धैर्यताको सीमा सकिएको छ, गंगामायाले उनले भनिन्, ‘अन्तिम उपाय अन्तर्राष्ट्रिय अदालत जाने हो । अदालतले सफाईको फैसला सुनाएको २८ दिन पुगेको छैन । त्यही कुरिरहेकी छुँ ।’
बहोसीमै जुस खुवाए
असार २९ गतेको घटना गंगामायाले अहिले सम्झिरहेकी छन् । उनले भनिन्, ‘त्यो बेला सबैले भोलि वा पर्सि मर्छ भनिरहेका थिए । मलाई आइसीयुमा राखिएको थियो । म बोल्ने वा थाहा पाउने अवस्थामा थिइन् । जुस घाँटीमा गयो र मुख टर्रो भयो । लुलुक्क हेर्दा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई देखे । मलाई बेहोसीमै जुस खुवाएछन् ।’ त्यो बेला गरिएका प्रतिवद्धता मलाई थाहा छैन, मानवअधिकारवादीहरुलाई नै थाहा होला ।
१० दिनभित्रमा नतिजा आउने कुरा उहाँहरुले गर्नु भएको थियो, उनले भनिन्, ‘अहिले आरोपीहरुले सफाई पाए । म अस्पतालको शय्यामा लडिरहेकी छु ।’ तत्कालीन विद्रोही माओवादी कार्यकर्ताले अपहरण गरेर २०६१ जेठ २४ मा हत्या गरेका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै गंगामाया न्यायको लडाई लडिरहेकी छन् । आमरण अनसनमै प्राण त्यागेका नन्दप्रसादको शव अझै पनि शिक्षण अस्पतालको शव गृहमै छ ।
के खाईरहेकी छन् गंगामाया ?
विहान दुध । खाना खाने समयमा मसरुम सुप । र, कालो चिया मात्रै । केही दिन दाल खाइन तर, युरिकएसिड बढेर हैरान भयो । फलफूल र जुस खानै हुँदैन । तर, औषधि भने खानै पर्छ ।
गंगामायाको क्याविनमा थपिएको अक्सिजन पाइप
गंगामायालाई राखिएको क्याविन ७ मा पहिले अक्सिजन दिन सिलिण्डर राखिएको थियो । अहिले त्यो झमेला हटेछ । अहिले भित्ता छेडेर पाइपमार्फत अक्सिजन दिने व्यवस्था गरिएको छ । गंगामायाका अनुसार त्यो धुर्मुस सुन्तलीले वीर अस्पताल रंगरोगन गर्दा गरेको काम हो ।