काठमाडौं। नेपाल राष्ट्र बैंकले यो वडा दशैँमा झण्डै १३ अरबको नयाँ नोट साटिने अनुमान गरेको छ । आइतबारबाट नयाँ नोट सटही सुरु भएको छ ।
यो बडा दशैँमा ५ देखि एक सय सम्मका नयाँ नोटका लागि १३ अरबको सटही हुने राष्ट्र बैंकले अनुमान गरेको हो । साथै ५ सय र एक हजारका गरी ५८ अरब रुपैयाको नया नोट बैंकहरु मार्फत पेमेन्ट हुने अनुमान पनि गरिएको छ ।
सर्वसाधारणलाई नयाँ नोट साट्न सहज होस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकका कार्यालयहरु तथा सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा कार्यालयबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।
मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पोहोर सालजस्तै यस वर्ष पनि नोट सटहीको व्यवस्था गरिएको जानकारी दिए । ५, १०, २०, ५० दरका दुई–दुई पाकेट र १०० दरको एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँ साटन पाउने भएको छ ।
राष्ट्र बैंकले विगतमा जस्तै उपत्यकाभित्र र बाहिर गरी २९ गतेसम्मका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।
नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका २१ शाखा कार्यालयबाट सर्बसाधारणले नयाँ नोट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । यस वर्ष राष्ट्र बैंकका कार्यालयबाहेक नेपाल बैंकका न्युरोड, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, लाजिम्पाट र भक्तपुर कार्यालयबाट नयाँ नोट वितरण गरिने छ ।
यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार, नक्साल, कंलकी र बालाजु शाखाबाट पनि नयाँ नोट साट्न सकिने छ ।
साथै कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र मंगलबजार शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । यी सबै स्थानबाट अधिकतम प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सकिने व्यवस्था गरिएको छ ।
सर्वसाधारणले सहज रुपमा नयाँ नोट साट्न सकून् भनेर राष्ट्र बैंकको थापाथलीबाहेक अन्य तीनवटा बैंकका शाखाबाट पनि साट्न पाउने व्यवस्था मिलाएको निरौलाले बताए ।
दशैँमा संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य संघ–संस्था लगायत कार्यालयलाई सम्बन्धित संस्थाको पत्रको आधारमा नयाँ नोट साटने व्यवस्था मिलाइएको छ । मुद्रा व्यवस्थापन विभाग थापाथलीको काउन्टरबाट समेत नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ।
उपत्यकाबाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट साट्न पाइनेछ । राष्ट्र बैंकका विराटनगर, जनकपुर, विरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज, धनगढीमा समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । उपत्यकाबाहिर पनि सहज रुपमा नयाँ नोट वितरण होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकको भनाइ छ।