एसपीका छोरा किरणको जन्मदिन वैशाखमा, साउनमा फोटो सुट !
गविविधि शंकास्पद, बयान गोलमोटल
प्रकाशित २०७५ असोज २२ सोमबार
618
Shares
काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय कार्यदलले हत्या नियोजित भएको र त्यसमा प्रहरीको संलग्नता रहेको निष्कर्षसहित सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ। उच्चस्तरीय छानविन प्रतिवेदनमा निर्मलाका परिवारले शंका गर्दै आएका एपी विष्टका छोरा किरणको जन्मदिनलाई समेत विवादितसँगै शंकास्पद भनेको छ।
किरणले छानबिन समितिलाई दिएको बयान शंकास्पद भनिएको छ । १० साउनमा आफूले होटलमा फोटोसुट गरेको र सामान्य रूपमा जन्मदिन मनाएको उनले समितिलाई बताएका थिए। यद्यपि, किरणको नागरिकतामा भने २०५६ साल वैशाख १० मा जन्मदिन देखिएकाले उनको गतिविधि शंकास्पद रहेको समितिको ठहर छ।
उनले १० गते २ बजे होटलमा साथी ऐश्वर्या, शिशिर र साथीसँग आएका अन्य केटीलाई आफूले नचिनेको बताए। त्यो दिन उनको फेसबुक आईडीमा बर्थडेको शुभकामना दिदीले बाहेक कसैले दिएको छैन भन्ने व्यहोरा समेत शंकास्पद रहेको प्रतिवेदनमा उल्लेख छ। छानविन समितिलाई उनले मृतक निर्मला पन्त, नगर प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, रोशनी भनिने आँचल बम र बबिता भनिने अनिता बमलाई नचिनेको भनी, बयान दिएका थिए।
गोली चलाउनेलाई पनि कारबाही सिफारिस
उच्चस्तरीय छानबिन समितिले आन्दोलनका क्रममा सन्नी खुनाको मृत्यु हुनेगरी गोली चलाउने प्रहरीलाई कारबाही गर्न सिफारिस गरेको छ। गोली चलाउँदा एसपी विष्टले प्रमुख जिल्ला अधिकारीलाई सोधेका छैनन्। यो विषयको रहस्योद्घाटन पहिले नै भइसकेको छ। एसपी विष्टमाथि सन्नी खुनालाई गोली हानेकोबारे पनि छानविन हुनुपर्ने औँल्याइएको छ।
यस्तै, छानबिन प्रभावित तुल्याउने र लापर्वाही गर्ने प्रहरी, वडा प्रहरी कार्यालयका इन्चार्ज निरीक्षकलगायतलाई पनि अनुसन्धानमा तानी बलात्कार र हत्याको रहस्य पत्ता लगाउन समितिले सुझाव दिएको छ। घटनास्थलमा रहेको गन्जी र निलो कट्टु तथा निर्मलाका कपडा पखाल्ने कामले प्रमाण नष्ट गर्न मद्दत पुगेको समितिको निष्कर्ष छ। निर्मला हत्यापछि चर्किएको आन्दोलनको दबाब थेग्न नसकेपछि गृहले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानविन समिति गठन गरेको थियो।