arrow

नेकपा सचिवालय बैठक जारी, सुल्झेला विवाद ?

logo
प्रकाशित २०७५ असोज २२ सोमबार
ncp-sachibalaya.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । बैठक सोमबार बिहान बसिरहेको हो । यसअघि आइतबारका लागि तय भएको बैठक अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डहरु व्यस्त रहेको जनाइँदै स्थगित गरिएको थियो । 

स्रोतका अनुसार आइतबारको बैठक नेताहरुबीचको विवाद टुंगो नलागेपछि सोमबार बिहानका लागि सारिएको थियो । त्यसपछि दुवै अध्यक्ष राजधानीमा भएको एक कार्यक्रममा सरीक भएका थिए । 

जारी सोमबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गराएको ‘असहमति पत्र’ र मातहतका कमिटी एकता प्रक्रियाको विषयमा छलफल हुने बताइएको छ । 

वरिष्ठ नेता नेपालले पार्टी मुख्यालयमा आफ्नो असन्तुष्टि पत्र नै दर्ता गराएका छन् । गत असोज ५ गतेको सचिवालय बैठकका निर्णय विवादमा आएपछि यो बैठकले समाधान खोज्ने अनुमान छ । 

तर सहजै यो समस्याको समाधान निस्कने सूत्र भने पत्ता लागेको छैन । 

आन्तरिक विषयमै अल्झेको नेकपाले सरकार संचालनबारे पनि छलफल गर्ने बताइएको छ । 

गत शुक्रबार दुवै अध्यक्षबीच भएको छलफलपछि सचिवालय बैठक डाकिएको हो । बैठकमा नेता नेपालको असहमति पत्र, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटी पदाधिकारी तथा सदस्यबारे पूर्वनिर्धारित मापदण्डमा थप मापदण्ड बनाउने विषयमा छलफल गर्ने योजना थियो। 

वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेशमा रहँदा सचिवालय बैठकले प्रदेश कमिटी इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेपछि नेपालले विमति जनाएका हुन् । 

प्रभावशाली नेता मानिने नेपालका पक्षका नेताहरु प्रदेश स्तरीय नेता चयनमा नपरेपछि यो मुद्दालाई उनले पेचिलो बनाएका छन् । आफूतर्फ ध्यान आकृष्ट गर्नका लागि उनले संसदमै गएर सरकारको समेत आलोचना गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ