कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रतिवदेन सार्वजनिक भएपछि उनका बाबु यज्ञराजले अब अनुसन्धानका लागि समिति बनाएर समय बर्बाद नगर्न आग्रह गरेका छन् ।
उनले छोरीका हत्यारा खुलेआम घुमिरहेको भन्दै कानुनी दायरामा ल्याएर कार्वाही गर्न माग गरेका छन् । उनले विभिन्न समिति बने पनि अनुसन्धानमा प्रहरीलाई दोषी मात्र देखाएर नहुने अब दोषीसंगै हत्यारालाई जतिसक्यो छिटो पक्रेर कार्वाही गर्नुपर्ने बताएका हुन् ।
गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।
मुलुककै ध्यान कञ्चनपुरमा केन्द्रित हुनुका साथै सबैतिर निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै विरोध एवं दवाव कार्यक्रमहरू भइरहेका बेला घटनाको अनुसन्धानमा खटिएको प्रहरीको अनुसन्धान टोली, प्रहरीकै केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले अनुसन्धान तीव्र पारे पनि अभियुक्त नजिक भने पुग्नसकेको छैन ।
यज्ञराजले आफू अब हत्यारालाई पक्राउ गरेर प्रहरीले कार्वाही गर्ला भन्ने आशाबाट निकै टाढिएको उल्लेख गर्दै अहिलेसम्म के प्रगति भयो त भन्ने केही पनि नआएको बताए ।
हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन ।
यो घटनाबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाको नेतृत्वमा रहेको अनुसन्धान टोली पनि लामो समयदेखि विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी घटना अनुसन्धानकै लागि सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवाली केही साताअघि कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेका छन् ।
घटनामा संलग्न भन्दै यसअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (हाल निलम्वित) प्रहरी उपरीक्षक डिल्लीराज विष्टले सार्वजनिक गरेका भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टको डीएनए रिपोर्ट नमिलेपछि उनी साधारण तारेखमा रिहा भएका थिए ।
घटनामा संलग्नताको आरोप स्थानीयवासीले लगाएपछि केही समयअघि प्रहरी उपरीक्षक विष्ट, उनका छोरा किरणराज विष्ट र भीमदत्तनगरकै युवा आयुश विष्टको समेत डीएनए परीक्षण गरिएको थियो । तीनै जनाको रिपोर्ट नमिलेपछि घटनाको अनुसन्धान थप जटिल बन्दै गएको छ ।
रिपोर्टमै शंका रहेको आरोप पनि लाग्दै आएको छ ।
यसअघि छोरीको हत्यारालाई कार्वाहीको माग गर्दै निर्मलाका बाबुआमा नै काठमाडौं आएका थिए । उनीहरुले प्रधानमन्त्रीलाई समेत भेटेर ज्ञापनपत्र बुझाएका थिए ।