रोकिएन मापसे, एकै दिन १५०३ कार्वाही, के कार्वाही हुन्छ मापसे गरे ?
प्रकाशित २०७५ असोज २३ मंगलबार
440
Shares
काठमाडौं । मादक पदार्थ सेवन मापसे गरेर सवारी चलाउनेहरु घटेका छैनन् । दिनानुदिन मापसे गरेर सवारी चलाउनेहरु पक्राउ परिरहेकाले यसको मात्रा घटे पनि ट्राफिक कार्वाहीमा पर्नेहरु भने घटेका छैनन् ।
सोमबार उपत्यकाबाट मात्र ट्राफिक कार्वाहीमा १५०३ कार्वाहीमा परे । त्यसमा मापसे गरेकाहरु ७० जना पक्राउ परे ।
त्यसैगरी हर्न निषेध ४, लेन अनुशासन उल्लंघन १८३, निषेधित स्थान पार्किङ ९८, जेब्रा क्रसिङमाथि सवारी रोक्ने २७, भाडा कार ४५ र अन्य कार्वाही १०७६ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
किन रोकिएन मापसे ?
ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुका अनुसार अहिले मापसको मात्रा घटेको छ । हाम्राकुरासंग उनले भने, ‘पहिले पहिले एक घण्टामा ८० जनासम्म म एक्लैले पक्राउ गर्दथें । अहिले घण्टामा एक दुई जनामात्र फेला पर्छन् ।’
उनले अहिले चेतना बढेको र मापसे गर्दा दुर्घटनामा परिन्छ भन्ने जानकारी चालकमा बढेको बताए ।
उनले काठमाडौं उपत्यकामा १२ लाख गाडी चल्ने र दैनिक ६०–७० जना मापसेमा पर्नु सामान्य भएको बताउँछन् ।
मापसेमा रक्सीमात्र पर्दैन । त्यस अन्तर्गत मादक पदार्थ सबै पर्दछ । उपत्यकामा गाँजा खाएर सवारी चलाउनेहरु धेरै भएको बताइए पनि हाछेथु भने अहिलेसम्म त्यस्तो घटना फेला नपरेको बताउँछन् ।
उनले त्यस्तो जानकारी पाए मापसेको नियम अनुसार नै कार्वाही गर्ने बताउँछन् ।
के कार्वाही हुन्छ मापसे गरे ?
मापसे गर्नेलाई चारवटा कार्वाही हुन्छ ।
निरीक्षक हाछेथु भन्छन् – पहिलो कार्वाही त गाडी वा मोटरसाइकल चालकले मापसे गरेको पाइए तत्काल गाडी नियन्त्रणमा लिइन्छ, लाइसेन्स लिइन्छ र चालकलाई ट्याक्सीमार्फत घर जाने व्यवस्था गरिन्छ ।
दोस्रो–चालकले एक घण्टा ट्राफिक कार्यालयमा गएर कक्षा लिनु पर्छ ।
तेस्रो–चालकले एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ ।