परिस्थितिले गंगामायालाई पनि बनाइदियो ‘कवि’ ! 

किर्तिनिधि, ओली र माकुनेको मात्रै किन चर्चा ?, गंगामायाको भावना नसुन्ने ?  

यमुना भण्डारी, प्रकाशित मिति : २०७५ असोज २४ बुधबार

काठमाडौं । सबै मान्छेले कविता लेख्दैनन् । र, सबै कवि हुँदैनन् । तर, अपवादमा कहिल्यै कविता नलेख्नेले पनि कविता लेखिदिन्छन् । पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले कुनै सयम ‘मृत्युघण्ट’ शीर्षकको कविता लेखेर पनि ठूलै हलचल मच्चाएका थिए । यो कुरा बरिष्ठ पत्रकार भैरव रिसालले भेटमा सुनाएका थिए । पछि उनले त्यो प्रसंग हिमाल खबरको ब्लगमा पनि लेखेका छन् । 

किर्तिनिधिले मुड आएर लेखेको कविता भने होईन । पत्रकार रिसालका अनुसार उनलाई राजाले नै कविता लेख्न भनेका थिए । विष्ट शान्त स्वभाव व्यक्ति हुन् । मृत्युको घण्ट बजाउने कित्तामा पर्दैनन् । तर उनको त्यो कविताले पंचायती शासन व्यवस्थामा लामै समय हलचल मच्चायो ।  

तर, पूर्वप्रधानमन्त्री विष्टले त्यसको स्पष्टीकरण दिँदै, ‘मेरो उक्त भनाईको अनर्थ लगाएर बङ्ग्याएर, टिङ्ग्याएर सम्प्रेषण गर्नु पत्रकारको भूल हो । म सहमत छैन यस्ता कुरामा’ भनेका छन् । 

कीर्तिनिधिको कविता ‘मृत्युघण्ट’
नेपाली हौं, हिमशिखरमा बस्दछौं धक नमानी
देशको माटो भनी सकल यहाँ राख्दछौं शिर माथि ।
जस्ले गर्दा तन–मन–धनले जानी नोक्सान यस्को
होला मृत्यु पलक भरमा दास बन्दा सपुत्काे ।

पत्रकार रिसालले, ‘कीर्तिनिधिको ‘मृत्युघण्ट’ आँखा नदेख्नेले हात्ती छामेर त्यसको वर्णन गरेजस्तै भयो । कीर्तिनिधिको स्वभाव, आचरण, चरित्र, आनीबानीको समीक्षा गर्दा उनी अरूका विरुद्ध मृत्युको घण्ट बजाउनेमा ठहर्दैनन् पनि’ भनी लेखेका छन् । 
कविताकै प्रसंगमा गएको असार ३१ गते काठमाडौंको व्यवसायीक पर्यटकीय स्थल चन्द्रागिरी पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले भावात्मक कविता लेखेर बाचन गरे । 

प्रधानमन्त्री ओलीले मरेपछि पनि सपना देख्न पाउँ भन्ने कविता बाचन गर्दा उपस्थित सहभागिहरुले ताली पिटे । मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको तीनदिने हिमवत कला साहित्य सम्मिलनको अन्तिम दिन कवि कलाकारहरुसँगै केवलकार चढेर चन्द्रागिरी उक्लिएका प्रधानमन्त्री ओलीले चन्द्रागिरीमै कविता रचना गरेर बाचन गरेका हुन् । 

शीर्षक भने दिएनन् उनले । प्रधानमन्त्री ओलीले कवितामा सपनामा भए पनि चन्द्रागिरीमा आएर तस्विर खीचेर रम्न पाउँ भनी लेखेका छन् । उनले लहलह खेतबारी, झपक्क कान्ला र आली देख्न पाउँ भनेका छन् । चन्द्रागिरीको डाँडामा आएर सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ, पनि भनेका छन् । 
कवितामा ओलीले संघर्षशील दुनियाँमा सधैं बाँचेको को छ र मर्नु त छँदैछ, मरि लानु के छ र मात्रै मरेपछि पनि सपना देख्न पाउँ भन्ने अंश उल्लेख गरेका छन् ।

कविताकै सेरोफेरोमा आफूले रचना नगरेपनि अरुले रचना गरेको कविता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि सुनाए । उनले संसदमै कविता सुनाएका हु्न् । प्रधानमन्त्री ओली अमेरिका  र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल सिंगापुर पुगेका बेला सत्ताधारी दलको शीर्ष नेताको हैसियतले संसदमा सम्बोधन गर्दै नेता नेपालले कविता सुनाए । 

मेरो देश डुब्न लाग्यो किनारा लगाइदेउ
माझी छौ कि कोही, किनारा लगाइदेउ
देश डुब्न लाग्यो, देशै बचाइदेउ

उनले त्यतिमात्रै भनेनन् । सरकारप्रति लक्षित गर्दै,  ‘दुनियाले औला ठड्याएर भ्रष्टाचारी भनिरहेको व्यक्ति पुरस्कृत भइरहेको हुदाँखेरी हाम्रो शिर निहुरिन्छ । यो कहिले रोकिने ? हिजो एउटा भिडियो हेरेर अचम्मित भए, हाम्रा मन्त्रीज्यूहरु कहाँ हुनुहुन्छ थाहा छैन । गृहमन्त्रीज्यू कहाँ हुनुहुन्छ थाहा छैन । उहाँहरुलाई जानकारी हुन्छ कि हुँदैन थाहा छैन । गृहप्रशासन नामको चिज हुन्छ कि हुँदैन थाहा छैन ।’ खेलेआम देश टुक्र्याउने अभिव्यक्ति दिने व्यक्तिहरुलाई जोगाउने निकायका ति व्यक्तिहरु कस्ता होलान् ? उनले थुप्रै प्रश्न गरे । 

कविताकै कुरा गर्दा १४ वर्षदेखि न्यायका लागि भीख मागिरहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई पनि परिस्थितिले कवि बनाइदिएको छ । उनी अनसन बसेको वीर अस्पताल क्याविन–७ को शय्यामाथि भित्तामा एउटा कापीको पन्नामा ‘गंगामाया अधिकारीको मनको पीडा, बह’ अक्षरमा कुँदेर टाँसिएको छ । शिर्षक छैन । कलमले हालेको लाइनभन्दा माथिको भाग च्यातेर टाँसिएको छ ।  कसले लेखेको हो, कविता ? सोध्न नपाउँदै गंगामायाले भनिन्, ‘मेरो मनभित्र आएका छालहरु हुन् ति । मैले भनेको हुँ । कुरुवा नानीहरुले कापीमा उतारि दिए ।’

छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग राखेर संघर्ष गरिरहेकी गंगामाया अहिले अनसनमा छैनन् । तर, अस्पतालको शय्यामै उनले दिन कटाउनु परिरहेको छ । अनसन बसिरहेका पति नन्दप्रसादको निधन भएको ४ वर्ष भयो । पतिको शव अझै त्रिवि शिक्षण अस्पतालमै छ । जेठो छोरा प्रहरी हिरासतमा छ । आफु वीर अस्पतालको शय्यामै छिन् । धेरै पछि किटानी जाहेरी परेको घटनाका १३ आरोपी मध्ये १२ जनाले जिल्ला अदालत चितवनबाट सफाई पाएका छन् । विदेशमा रहेका एक जनाबारे मात्रै मुल्तवी राखिएको छ ।

सरकारले पुनरावलोकनको लागि उच्च अदालतमा निवेदन दिएको छैन । तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताल मामाघर हिँडेका कृष्णप्रसादको २०६१ जेठ २४ गते हत्या गरेका थिए । १७ वर्षीय छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै गंगामाया न्यायका लागि संघर्ष गरिरहेकी छन् । तत्कालीन विद्रोही माओवादीको मुख्य हिस्सा अहिले सरकारमा छ, यस्तै मानवअधिकार, लोकतन्त्र, विधि तथा कानूनी शासनको उर्दी लगाउने शक्ति समेत सरकारमै छ । तर, न्याय मागेर कयौँ वर्षदेखि भोक हड्ताल गरिरहेकी गंगामाया गलेकि छन् । पीडा, बह, आक्रोश पोख्न सकिरहेकी छैनन् । तर, परिस्थितिले कवि बनाइदिएको छ । 

शब्दमा गंगामायाको पीडा 
तिमिनै थियौ सिन्दूर पोते ।
तिमिनै थियौ गाजल ।। 
तिमि नै थियौ जुन भाम ।
तिमि नै थियौ वादल ।।

फाटेको मुटु सिउँदैछु धागोले 
आफ्नो र अर्को भन्दैन आगोले 
दुखीरहेछ मुटु पोलिरहन्छ छाती
यो भन्दा नि अपराध कति गर्छौ म माथि

दुःख पनि रोपियो सुख पनि रोपियो ।
काँकी भाको रगत मैदानमा पोखियो ।।
मन्दिरमा बनेका छन् ढोकाहरु
त्यही ढोकामा मारिएका छन् बोकाहरु ।।
मन्दिरमा देवता छन्, छ न त ।
रगतको भोग खान्छन् खान त ।।

काक्रो त टिप्यौ तर, झ्याङ पनि राखेनौ सरकार ।
इज्जत र धर्ममा ख्याल पनि पनि राखेनौ सरकार ।।
टाइ र सुट के सपथ साइ लायौ सरकार । 
गर्न के खोज्नु भएको हो, गर्नुहोस् सरकार ।।
फोरि दियौ चुरा सरकार झर्याम्मै पारेर । 
कति तड्पाउँछौ सरकार यो आँशु झारेर ।।

नतड्पाउ सरकार ओछ्यानमा मलाई । 
दिनुहोस् फासी रसीको मलाई ।।
सिउँदोको सिन्दूर सरकारले पुछिदे ।
काखाको बच्चा अपराधीले मारिदे ।।
सत्यको न्याय दिएनौ सरकार ।
सत्य खोज्न कहाँ जाउँ सरकार ।।

नयाँ