काठमाडौं । नेपालमा पनि अपांगतामैत्री भ्यान संचालनमा आएको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले एक समारोहकाबीच अपांगतामैत्री भ्यानको समुद्घाटन गरेका हुन् ।
अपांगता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाडौं (सिआइएल) ले टोयोटा हायस भ्यानमा हाइड्रोलिक लिफ्ट जडान गरी अपांगतामैत्री बनाएको हो ।
अपाङ्गता भएका व्यक्तिहरु निर्बाध रुपमा आफूले चाहेको स्थानमा आवतजावत गर्न सहज होस भन्ने उदेश्यका साथ उक्त भ्यानमा हाइड्रोलिक लिफ्ट जडान गर्न अष्ट्रेलियन स्वयंसेवक कार्यक्रम (एभीआई) अष्ट्रेलियन राजदूतावास मार्फत करिब रू ८ लाख सहयोग प्राप्त भएको थियो ।
उक्त समारोहमा अष्ट्रेलियन राजदूतले भने, ‘अपांगतामैत्री भ्यान नेपालको पहिलो हो र यसले अपांगता भएका व्यक्तिहरूको आवागमणको अधिकारलार्इ थोरै भएपनि सुनिश्चित गर्ने र नेपालमा अपांगतामैत्री पर्यटन प्रबर्धन गर्नमा सहयोग पुर्याउने छ ।
त्यसैगरी अर्का वक्ता मुकुन्द दाहालले उक्त भ्यान नमूनाको रूपमा हुने र यस्तो प्रविधिलार्इ विस्तार गर्नु पर्ने बताए । अर्का वक्ता सूर्यभक्त प्रजापतीले यसको दीगोपनामा ध्यान दिनु पर्ने बताए ।
अपांगतामैत्री पर्यटन प्रवद्र्धनमा लामो समयदेखि लागेका पर्यटनकर्मी पंकज प्रधानाङ्गले यस भ्यानले नेपालमा आउने अपांगता भएका व्यक्तिहरूलाइ सहज हुने बताए । हालसम्म अपांगता भएका पर्यटकले नेपालमा यातायातमा समस्या भएको कारण खुशी हुन नसकेको, नेपालमा अपांगतामैत्री यातायात नहुँदा लज्जित हुनु परेको उनले जनाए ।
कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष गणेश केसीले यस भ्यानलार्इ सहयोग गर्ने कोरियाको इन्डिपेन्डेन्ट लिभिङ सेन्टर र अष्ट्रेलियन स्वयंसेवक कार्यक्रमलार्इ धन्यबाद दिँदै यस भ्यानलार्इ अपांगतामैत्री यातायात प्रवद्र्धनमा पैरवी गर्न सहयोग पुर्याउने, नीति बनाउन सहयोग गर्ने र अबका दिन यस्ता सवारी साधनहरू बढाउन सबैले प्रयत्न गर्नु पर्ने बताए ।
कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव जमुना सुवेदीले गरेकी थिइन् ।