बलात्कारपछि हत्या भएकाका परिवार शोकमै, दोषीलाई दशैंको मज्जा ?
राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ देलान् कि !
प्रकाशित २०७५ असोज २९ सोमबार
610
Shares
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले शान्ति सुरक्षा दिन नसकेको यथार्थ सबैसामु छ । तैपनि सरकार शान्ति सुरक्षा दिइरहेको दावी गर्छ ।
बलात्कार, हत्याहिंसा बढ्दो छ तैपनि सरकार बलात्कार नभएको र हत्या हिंसा कम भएको दावी गर्छ ।
गते साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । उनको शव साउन ११ गते भेटियो ।
त्यसयता उनको परिवार शोकमा छ । निर्मलाका बलात्कारी र हत्यारालाई कार्वाही गर्न माग गर्दै देश विदेशमा क्याम्पेन चल्यो ।
निर्मला हत्यापछि देशमा थुप्रै बलात्कृत भए । झण्डै तीन दर्जन बालिका बलात्कृत भए । केहीको हत्या भयो ।
यस्तो घटना तराई भेगमा अझ बढी छ । मधेश यो पीडामा झन् बढी छ । तर सरकारले केही गर्न सकेको छैन ।
दशैंको रमझममा मुलुक झुमिरहँदा बलात्कारी र हत्यारा पनि झुमिरहेका छन् । प्रहरी प्रशासन मुकदर्शक भएर बसेजस्तो भएको छ ।
भ्रष्टाचार गर्दिन भनेर दिनानुदिन सपथ खाने नियम बनाएको दुई हप्तामा दुई दर्जनबढी सुरक्षासहितका कर्मचारी पक्राउ परिसकेका छन् ।
जनताले तिरेको करबाट तलव खानेहरु फेरि जनतासंगै घुस खाइरहेका छन् । जनताले नै भोगेको पीडामा उनीहरु साथ दिन सकिरहेका छैनन् ।
निर्मला काण्डका दोषीलाई किन दशैको उन्मादमा रमाउन दिने ?
नेपालको बलात्कार काण्डमा सबैभन्दा बढी चर्चामा निर्मला काण्ड रह्यो । तर यतिठूलो क्याम्पेन, छानबिन समिति, सरकारको सबै शक्ति लगाएको देखाइँदा पनि हत्यारालाई प्रहरीले पक्रेको छैन ।
हत्यारा लुकाउन नै प्रहरी परिचालन भएको देखिँदै आएको छ । छानबिन समितिहरुले सुरक्षामा खटिएका प्रहरीहरुलाई दोषी देखाइरहेका छन् ।
तर गृहमन्त्रालयले घटनामा मुछिएका प्रहरीहरुलाई निलम्बनमात्र गरेको छ । तिनीहरुलाई पक्राउ गरी जेलमा राखेर अनुसन्धान गर्न कसले रोक्यो ?
पहिले अनुसन्धान समिति पनि नबनाएर विपक्षीले राजनीति गरे भन्ने प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापालाई अहिले काम गर्न कसले रोक्यो ?
हत्यारा बचाउन खोज्नेहरु पनि हत्यारा हुन् । यसमा पनि आशंका छ र ? फेरि तत्कालीन कञ्चनपुर प्रहरी प्रमुखको टोलीदेखि लिएर पछि अनुसन्धानमा खटिएको सीआइबीको टोली सबै दोषी छन् ।
प्रमाण नष्ट गर्न खोज्ने सबैलाई कानुनी कठघरामा उभ्याइनु पर्दछ । तबमात्र दोषी र निर्दोषी प्रमाणित हुन्छ । बम दिदीबहिनीदेखि लिएर प्रमाण नष्ट गर्न सक्रिय सबैलाई कठघरामा उभ्याइनु पर्दछ ।
नक्कली हत्यारा खडा गर्ने सिंगो कञ्चनपुर प्रहरी प्रशासनलाई किन कठघरामा उभ्याउन सकिएन ? पीडितलाई राहत दिन किन सरकार हिच्किचायो ?
ती सबैलाई बडादशैं उन्मादका साथ मनाउन दिने प्रहरी प्रशासनले यसको नैतिक जिम्मेवारी लिने कि नलिने ?
के बलात्कार, हत्या हुनेहरुका बाबुआमा र परिवारले मात्र हो शोक मनाउनु पर्ने ? अहिले मुलुक शोकमा छैन ?
निर्मला हत्याकाण्डको ४९ दिनमा मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले शोक व्यक्त गरिन् । बलात्कारीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिइन् ।
कतै राष्ट्रपतिले भनेपछि पो कार्वाही हुने हो कि बलात्कारी समातिने हो कि भन्ने आशा पनि जाग्यो । तर खोइ त ?
के राष्ट्रपतिले यसपटक नैतिकताका आधारमा दशैं नमनाउने भन्लिन् ? के पीडित नेपालीको पीडामा साथ देलिन् ?