जिल्ला नपुग्दै नेकपाका सांसदलाई डोटीमा कालो झण्डाले स्वागत
' जनतालाई धोका दिनेलाई कालोझण्डा अझै कम '
प्रकाश बम,
प्रकाशित २०७५ असोज २९ सोमबार
849
Shares
डोटी। डोटीका युवाहरुले डोटीबाट निर्वाचित प्रदेश सभा सदस्य अर्चना गहतराजले जिल्लामा कालोझण्डाको सामाना गर्नुपरेको छ। सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी बनाउन मतदान गरेको भन्दै सोमबार दिपायलमा युवाहरुले उनको विरोध गरे।
डोटी चेम्बर अफ कमर्शले बडादशैँ तथा तिहारका अवसरमा पिपल्ला बजारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि भएर पुगेकी गहतराजले मन्तव्य राख्न शुरु गर्दैगर्दा युवाहरुले नाराबाजी सहित कालोझण्डा देखाएर विरोध गरेका हुन्। स्थानियले कालोझण्डा देखाएर होहल्ला गरेपछि उनले मन्तब्य राख्न सकिनन् ।
डोटीबासी प्रदेशको राजधानी दिपायल हुनुपर्ने भन्दै लामो समयदेखि आन्दोलनमा छन् । यसैक्रममा यहि असोज १२ गते प्रदेश सभाको दुई तिहाई बहुमतबाट राजधानी कैलालीको गोदावरी तथा सुदूरपश्चिम प्रदेश नामाकरण गरिएको हो। सो प्रस्ताबमा डोटीबाट निर्वाचित सांसद तथा मुख्यमन्त्री त्रिलोचन भट्ट, सांसदहरु पूर्णा जोशी र अर्चना गहतराजले मतदान गरेका थिए। उनीहरु सहितको मतदानपछि ५३ सदस्य रहेको संसदमा ३८ मत पक्षमा परेको थियो। ‘सो निर्णयको पक्षमा डोटीका तिनजना सांसदले मत नहालेको भए दुई तिहाई पुग्ने थिएन,’ कालो झण्डा देखाउन सक्रिय दिपायलका युवा विनोद खड्काले भने,‘त्यसैले उनीहरुले डोटेली जनमतको अवमूल्यन गरेका छन । आफ्नै मतदाताको भावनामाथि खेलवाड गरेका छन् । त्यसैले कालोझण्डा देखाएका हौ ।’
अर्का यूवा खडक बहादुुर कठायतले तीनैजना सांसदलाई आफुहरुले सधै बहिस्कार गर्ने र उनीहरु उपस्थित भएका कार्यक्रममा कालोझण्डा सहित जाने बताए। उनले भने, ‘ भोट माग्दा दिपायल राजधानी बनाउछौ भनेर माग्ने अहिले डोटीका विरुद्धमा मतदान गर्ने। अनि हाम्रै अगाडी फूर्ती लगाएर भाषण गर्न आउने ? उनीहरुमा नैतिकता भए डोटीको माटो समेत टेक्ने अधिकार छैन ।’
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने सबैजसो बक्ताहरुले गहतराज लगायतका तीनै जना सांसदको खुलेर बिरोध गरेका थिए। ‘हामी यी सांसदलाई सधै बहिस्कार गर्छौ । यिनका कुनैपनि कार्यक्रममा सहभागि हुदैनौ,’ नेपाली कांग्रेसका नेता जीत बहादुर खड्काले भने, ‘उनीहरुले पनि डोटीमा हुने सार्वजनिक कार्यक्रममा उपस्थित हुने दुस्साहस नगरे हुन्छ ।’ खड्काले डोटेली जनतालाई छलकपट गरेर चुनाव जितेपछि डोटीकै अधिकारमाथि नराम्ररी लात हानेको आरोप लगाए । ‘राजधानी नभए राजिनामा दिन्छौ भनेर भोट मागेर चुनाव जित्नेहरुले आज खुलमखुल्ला दिपायलका विपक्षमा भोट हालेका छन् र सगौरव छाती खोलेर हिडिरहेका छन् । उनीहरुलाई हामी कदापी हाम्रो माटोमा शिर उठाएर हिड्न दिने पक्षमा छैनौ,’ उनले भने ।
नेपाल कम्युनिष्ट पार्टीका नेता एबं पूर्ब उपमेयर प्रेम बहादुर शाहले नैतिकता नभएका नेताका कारण दिपायलको राजधानी खोसिएको बताए । ‘आफ्नै पार्टीका सांसदहरुका विरुद्धमा बोल्न परेको छ । यी सांसदहरु पदका लागि जे गर्न पनि पछि नपर्ने रहेछन्,’ उनले भने,‘ नैतिकता नभएपछि कस्लाई के भन्न सकिन्छ र ? यो अपमानजनक निर्णयको जति बिरोध गरेपनि कम हुन्छ ।’