arrow

पूर्वराजाको शुभकामनामा देश डुबेको चिन्ता (विज्ञप्तिसहित)

logo
प्रकाशित २०७५ असोज ३१ बुधबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीको अवसरमा शुभकामना व्यक्त गर्दै देश डुब्न लागेको भन्दै बचाउन आग्रह गरेका छन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै समीक्षा र आत्ममूल्यांकनको घडी आएको बताउँदै आफैँलाई साक्षी राखेर देश र देशवासीका पक्षमा केही गर्ने प्रण गर्न समेत आग्रह गरेका छन् । 

शुभकामना सन्देशमा देशमा व्याप्त हत्या, हिंसा र बलात्कारजस्ता घटनाप्रति चिन्ता गर्दै त्यस्ता घटनालाई निरुत्साहित गर्न आग्रह गरिएको छ । 

पूर्वराजाबाट जारी भएको वक्तव्यको पूर्णपाठ यस्तो छ–
‘प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ !

विजयादशमीको पावन अवसरमा हामी देशभित्र र देशबाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरूमा शान्ति, सुख र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछौँ ।

नेपाल राष्ट्र भन्नु नै यज्ञीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनुष्ठान, साधना र परम्पराले वेष्ठित रहेको छ । कोट, मौलो, खड्ग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतीकका रूपमा रही नेपाली समाजमा देवी महात्म्य आराध्य छिन् । तर, पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरू संकटमा पर्दै जानु सबै नेपालीका लागि विषद् विषय बनेको छ ।

देश शान्त, सुखी र समृद्ध बन्ने आशामा हामीले गरेको सहमति अभिभाज्य मुलुक र सद्भावपूर्ण राष्ट्रिय एकताका निम्ति थियो भन्ने तथ्य पुनः स्मरण गराउँदछु । देशमा शान्ति–सुव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नु–मारिनु नपर्ने, आपराधिक क्रियाकलापमा न्यूनीकरण हुने, कोपिला बालबालिकाहरूसमेत सुरक्षित र संरक्षित रहन सक्ने, विभिन्न आकार–प्रकारका सरकारहरूबाट जनतामाथि आर्थिक भार कम हुने, जनताको जीवन सुखमय बन्ने, राष्ट्रिय एकता र सार्वभौमिकता थप मजबुद हुने तथा असहिष्णु व्यवहार निरुत्साहित हुँदै जाने विश्वास हामीले लिएका थियौँ ।

देश बन्ने–बनाइने सपना देखेका हामी नेपाली राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरूका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका छौँ । हरेक उपलब्धिहरू परिवर्तन हुन्, तर हरेक परिवर्तनहरू उपलब्धिमूलक बन्न सक्दारहेनछन् भन्ने पुष्टि विद्यमान अवस्थाले देखाइरहेको छ । आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै छ भने तराई, पहाड र हिमालमाझको ऐक्यभाव तोड्ने भगीरथ प्रयत्नसमेत भइरहेको छ । अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको छ । आफैँलाई साक्षी राखेर देश र देशवासीका पक्षमा केही गर्ने प्रण गरौँ।

श्री नवदुर्गा भवानीले सबै नेपालीमा सत्प्रेरणा प्रदान गरून्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पुनर्जागरण होस्, यही मेरो कामना छ ।
जय नेपाल ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ