arrow

'दशैं लगत्तै मन्त्रिमण्डल  र प्रमको सचिवालय पुर्नगठन'

पार्टीको सांगठनिक अवस्था अहिले कमजोर

logo
प्रकाशित २०७५ असोज ३१ बुधबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र सचिवालय पनि पूनर्गठन हुने घोषणा गरेका छन् । उनले भने,‘अहिलेसम्मको समिक्षा गर्दा प्रधानमन्त्री केपी शर्मा ओली सफल हुनुभएको छ । र, आगामी दिनमा पनि सफल हुनुहुन्छ । ७ महिनाको कार्यकालको समिक्षा स्वयम् प्रधानमन्त्रीले पनि गर्दैहुनुहुन्छ ।’

नेता बस्नेतले दशैंलगत्तै सरकारले केही लोकप्रिय कार्यक्रमहरु ल्याउने पनि जानकारी दिए । उनले भने,‘सरकारले केही वितरणमुखी बजेट ल्याउनेछ । र, सरकारले समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पूर्नगठनको कुरा होस या मन्त्रिमण्डल पूर्नगठन गर्ने कुरामा पनि ध्यान दिनेछ । प्रहरी प्रशासन परिचालनको विषयमा पनि ध्यान दिनेछ ।’

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग जनता अहिले खुशी रहेको विश्वास दिलाए । उनले भने,‘सरकारको परफर्मेन्सबाट जनता खुशी छन् ।’

संघीयता कार्यान्वयन गर्न धेरै चूनौति रहेको उनले बताए । उनले भने,‘प्रदेश सरकार चलाउन पनि अप्ठ्यारो छ । चित्रबहादुर दाईले संघीयतालाई फेल मार्क दिनु गलत होईन र भीमसेनदासजीले पास र्माक दिनुपनि ठीक हो । जनताको खुशी नै हाम्रो साध्य हो । संघीयताको राम्रा तथा नराम्रा कुराहरु भन्ने बेलामा अहिले हामी छैनौं ।’

वर्तमान प्रधानमन्त्री ओलीले २ नम्बर प्रदेशको जनताको भावना बुझेर संविधान संशोधन गर्ने कुरा गरेको पनि उनले सुनाए । उनले सीके राउत र नेत्रविक्रम चन्द ‘विप्लव’ का गतिविधिहरु एकदमै गलत रहेको बताए । उनले भने,‘उनीहरुको गतिविधि एकदमै गलत छन् । र, कतिपय नेताहरुले उनीहरुलाई समर्थन गरेकोबारे समिक्षा गर्नुपर्छ ।’ 

२ नम्बर प्रदेश र संघीय सरकारबीचको असमझदारीपनि विस्तारै घट्दै जाने उनले सुनाए । उनले भने,‘असमझदारी घटाउनेतर्फ सरकारले उचित ध्यान दिएको छ । तर, आज यो भन्दा डरलाग्दो विषय के हो भने मुलुकको सार्वभौम अखण्डतामाथि नै चूनौति दिने गरेर एकातिर सीके राउतका गतिविधिहरु र अर्कोतर्फ आतकंवादलाई नै समर्थन गर्ने ढंगले विप्लव समूहरुको गतिविधि भएका छन् । त्यस्ता खालका गतिविधिहरु र विखण्डनकारी गतिविधिहरुलाई सरकारले नियन्त्रण गर्दाखेरी त्यो गरेबापत राज्यको आलोचना गर्ने मानवअधिकारवादी र घुमाईफिराई त्यसलाई समर्थन गर्ने न्यायालय, यो कुरा चाहीँ आज समिक्षाको विषय हो भन्ने मलाई लाग्छ ।’

बस्नेतले अतिवादीहरुले अहिले वर्तमान सरकारको मुल्यांकन गरिरहेको पनि स्पष्ट पारे । उनले भने,‘निर्मला पन्तको घट्नालाई जोडेर नेपालको शान्ति र सुरक्षालाई कमजोर ठान्नु ठीक होईन् । सरकारले यो घट्नामा गम्भिर ध्यान दिएको छ । अनुसन्धान पनि जारी छ ।’

फरक प्रसँगमा उनले आफ्नो पार्टीको सांगठनिक अवस्था अहिले कमजोर भैरहेको स्वीकार गरे । उनले भने,‘त्यसैको लागि प्रधानमन्त्रीले नेता तथा कार्यकर्ताहरुलाई संगठित हुनुपर्छ भन्नुभएको छ । प्रधानमन्त्रीले अरिंगाल बन्नुपर्छ भन्नुभएको पनि यही सेन्समा हो । यसलाई बंग्याएर बुझ्नुहुँदैन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ