arrow

बिरालोले बच्चा सार्नु र नेकपाले भाका सार्नु एकै 

logo
प्रकाशित २०७५ कार्तिक १ बिहिबार
nekapa.JPG

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ । तल्लोतहदेखि शीर्ष तहसम्म कसैले कसैलाई टेर्ने अवस्था देखिएको छैन । आफू नै सर्वोपरि हुन खोज्ने मानसिकताले नेतृत्वतह त दलदलमा फसेको छ नै कार्यकर्ता पनि स्थानीय तहमा पनि नेताहरु ‘तँभन्दा म के कम’ भन्ने मनस्थितिमा पुगिसकेका छन् । 

यही मपाइँत्वले गर्दा जेठ ३ गते केन्द्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भए पनि तल्ला तहमा सिन्कोसमेत भाँचिएको छैन । काम नभएको हैन । भएको छ । तर त्यो काम भने प्रगतितर्फ भन्दा अधोगतितर्फ गएको नेताहरुकै भनाई छ । 

त्यसैले त नेकपा अहिले एकीकरणको भाकालाई बिरालोले पाठो सार्ने गतिविधिसंग जोडिएको छ । ‘बिरालोले पाठो सार्नु र नेकपाले भाका सार्नु एकै’ भनी राजनीतिक विष्लेषकहरुले टिप्पणी गरिरहेका छन् । केन्द्रको यो क्रियाकलापप्रति स्थानीय नेताहरुसमेत रुष्ट भएका छन् । 

केन्द्रले अब स्थानीय तहको एकीकरण दसैंलगत्तै सुरु हुने जनाएको छ । जिल्ला तहको एकीकरणसम्बन्धी यसअघिका कार्यदलले दिएको प्रतिवेदन विवादमा परेपछि एकीकरण लम्बिएको हो । भाका भने नेकपाले दशैंमै तोकेको छ । नेकपाले एकीकरणका अल्झिएका काम सक्न कार्तिक ४ र ५ गतेका लागि सचिवालय बैठक डाकेको छ । 

बैठकले छलफल गरेपछि पार्टीका स्थायी समिति बस्ने गरी समन्वयसमेत गरिरहेको नेताहरुले बताएका छन् । नेताहरुका अनुसार स्थायी समितिको बैठक कार्तिक १२ र १३ गतेका लागि बोलाइएको छ । 

यी बैठकले निश्चित रुपमै पार्टी जिल्लातहदेखि नै एकीकरण हुने दावी नेताहरुले गरेका छन् । तर यस्तो दावी यसअघि पनि नगरिएको हैन । जेठ ३ गते नै तीन महिनाभित्रै हरेक तहमा एकीकरण हुने उद्घोष गरिएको थियो । तर त्यो उद्घोष व्यर्थ गएको छ । 

जेठ ३ पछि पटक पटक प्रयास भए । तर नेताहरुले आफ्नो पक्ष र विपक्षको अडान राख्दा राख्दा सम्भव भएन । अब बस्ने बैठकले जिल्लास्तरको एकताको गाँठो फुकाउने र केन्द्रीय विभागहरूलाई पनि पूर्णता दिने योजना रहेको नेताहरूले जनाएका छन् । 

चुनावी एकीकरण गरे बाहेक एमाले र माओवादी केन्द्रका संगठनहरू चलायमान छैनन् । पार्टीका काम करिब ठप्प छन् । नेकपाले हाल प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोकेको छ । यद्यपि यो निर्णयमाथि पनि वरिष्ठ नेता माधवकुमार नेपालको असहमति कायमै छ । नेपालको असहमति भए पनि प्रदेशका पदाधिकारीहरूले काम थालिसकेका छन् । 

त्यसो त दशैंको बिदाको समयमा पनि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक परामर्श गरी सचिवालय बैठकको तयारी गर्ने बताइरहेका छन् । तर दुवै अध्यक्ष गुटमा विश्वास गर्छन् । गुटगत छलफल गरिरहेका छन् । 

यस्तोमा सचिवालयले कस्तो निर्णय गर्ला भन्ने चासो हुनु स्वभाविकै हो । सचिवालयले एकताका सैद्धान्तिक आधारका गृहकार्य गरेपछि स्थायी समितिमा बृहत् छलफल हुन्छ । 

यसपटक पनि भाका पो तोकिन्छ कि, यस्तो छ आधार
थुप्रै पटक समय सरेकाले यसपटक पनि टुंगो लाग्छ भन्ने छैन । त्यसमाथि पनि सचिवालय बैठकमा वामदेव गौतमको काठमाडौं ७ बाट उठ्ने हठ त्यागेको अवस्था र रामवीर मानन्धरले हचुवामा छाड्छु भनेको अवस्थाले निम्त्याएको नियतिसंगै सरकारका कामकारबाहीको विषयमा समीक्षा निकाल्न थालियो भने झन् अवस्था चौपट बन्नेछ ।  

तसर्थ भाका फेरि पनि सर्ने आधार यसलाई लिन सकिन्छ । वामदेवलाई जसरी पनि संसदमा ल्याउने तर काठमाडौं ७ बाट हैन अन्यत्रबाटै भनेर महासचिव विष्णु पौडेल विवादमा आइरहँदा उनीमाथि पनि महासचिवको पद धरापमा पर्न थालेको जनाइन्छ । 

त्यसैगरी सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै मन्त्रीहरु हेरफेर हुने संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले दिइसकेका छन् । प्रचण्ड पनि हिसाबकिताब मिलाउने पक्षमा देखिन्छन् । 
यही अवस्था आए अहिलेसम्म जनतालाई राहत दिने सवालमा अहिलेसम्मकै कमजोर देखिएको सरकारको हालत कमजोर हुन थाल्यो भने एकीकरणको म्याद फेरि सर्ने छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ