arrow

दुई दिने नेकपाको सचिवालय बैठकमा यी विषयमा हुँदैछ मन्थन 

तीन एजेन्डा जल्दाबल्दा

logo
प्रकाशित २०७५ कार्तिक ४ आइतबार
nekapa.JPG

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा दुई दिनसम्म व्यापक मन्थन हुँदैछ । यसअघि पटक पटक स्थगित भएको बैठक प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बिहान ११ बजे सुरु हुँदैछ । 

तीन सातापछि बल्ल साइत जुरेको यो बैठकमा पार्टीको मात्र नभइ सरकारको कामको समीक्षा समेत हुने बताइएको छ । 

दुई दिने बैठकमा तीन एजेन्डा प्रमुख रुपमा उठाउने बुझिएको छ ।

१, एकीकरणको टुंगो 

मुख्यगरी केन्द्रमा गत जेठ ३ गते पार्टी एकीकरण (एमाले र माओवादीबीच) भए पनि स्थानीय तहमा अहिलेसम्म एकीकरण हुन सकेको छैन । 

दुई दिने बैठकमा यसको विस्तृत खाका निकाल्ने योजनामा नेताहरु रहेको बताउँदै छन् । 

सचिवालय बैठकपछि स्थायी समिति बैठक बसेर स्थानीय तहदेखि हरेक तह र तप्कासाथै संगठनमा पनि एकीकरण गर्ने योजनामा नेताहरु छन् । तर गुट उपगुटले भने आपसमा टकराव देखिएको छ । 

२, माधव नेपालको एजेन्डा
बैठकमा विशेषगरी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको चरम असन्तुष्टिले ठाउँ पाउने भएको छ । नेपालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली अमेरिका भ्रमणमा गएका बेलामा संसदमै बोलेर सरकार र पार्टी नेतृत्वप्रति चर्को आलोचना गरेका थिए । 

नेपालले असहमति जनाउँदै लिखित असन्तुष्टि पत्र नै महासचिव विष्णु पौडेललाई बुझाएका थिए । 

उनले आफ्ना असन्तुष्टि पार्टी सचिवालयमा दर्तासमेत गराएका छन् । ओली फर्केपछि यो विषयमा छलफल हुने भनिए पनि अनेक बहानामा उनको असन्तुष्टि संवोधन हुन सकेको छैन । 

एकीकरणमा पनि नेपाल पक्षको चर्को असन्तुष्टि छ । गत भदौ २८ गते बसेको पार्टी सचिवालयको बैठकले एकीकरण सम्बन्धि नयाँ मापदण्ड तयार पार्न पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको थियो । 

सरसल्लाह विपरीत ओली र प्रचण्डले असोजको पहिलो साता बसेको सचिवालयले प्रदेशको अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज नै तोकेपछि एकाएक तरंग पैदा भएको छ । 

नेपालको भनाइमा सचिवालय निर्णय गर्ने थलो नभएको र अध्यक्षद्वयलाई मापदण्डसम्बन्धि प्रस्ताव तयार पार्न मात्रै जिम्मेवारी दिएको हो । नेपाल पक्ष गण्डकी र ५ नम्बर प्रदेशको इन्चार्ज चयनप्रति असन्तुष्ट छ । 

नेपालले आफ्नो पक्षका नेताहरु पनि समेटेर जिम्मा दिनुपर्ने अडान राखेका छन् । नेता नेपालकै माग बमोजिम कार्तिक १३ र १४ गते स्थायी कमिटीको बैठक बोलाइएको छ ।

दुई दिने सचिवालय बैठकपछि आउने निष्कर्षले कार्तिक १३ र १४ को मोड पत्ता लगाउने छ । 

३, मन्त्री फेरिने सम्भावना 

सरकारको काम कार्वाहीप्रति प्रतिपक्षी दलहरुमात्र हैन नेकपाभित्र पनि चर्को असन्तुष्टि छ । मन्त्रीहरुको काम कार्वाही अझ चरम लापरवाहीपूर्ण रहेको बताइन्छ । 

विशेषगरी सम बरियताका ओली र प्रचण्ड पक्षका नेताहरु मन्त्रीदेखि विभिन्न पहुँचमा रहे पनि तेस्रो वरियताका नेपाल पक्षका कम छन् । त्यसैले उनमा आक्रोश छ । 

त्यही आक्रोशलाई उनले सरकारले काम गर्न नसकेको एजेन्डा उठाएका छन् । सरकारले जनभावना र मर्म मुताविक काम गर्न नसकेको र जनगुनासो चुलिएको भन्दै सचिवालय बैठकमा सरकारको कामको गम्भीर समीक्षा समेत हुने बताइएको छ । 

ओली प्रचण्ड पक्षका र प्रचण्ड ओली पक्षका मन्त्रीसंग असन्तुष्ट रहेको बुझिन्छ । मन्त्रीहरुले काममा भन्दा कुरामा बढी जोड दिएको गुनासो पनि बढेको छ । 

त्यसैगरी देशमा हत्या, हिंसा र बलात्कार बढ्नुका साथै सुशासन उल्लंघन हुँदा भ्रष्टाचार बढेको समेत निष्कर्षमा माधव नेपाल सहितका नेताहरु पुगेका छन् । 

मन्त्री बन्न र बचाउन चाकडी
केही मन्त्रीहरुले आफ्नो कुर्सी बचाउन लबिङ गरिरहेको र बाहिर रहेका नेताहरु मन्त्री बन्न चाकडी गरिरहेको बालुवाटार स्रोतले बताएको छ । 

बालुवाटारको उच्च स्रोतले भन्यो – आउनु हुन्छ दिनानुदिन कोही न कोही । अहिले पद बचाउन र पद पड्काउन आउनेको भीड बढेको छ । 

गृहमन्त्रालयबाट सुरु भएको आक्रोश यातायात मन्त्रालयसम्म पुग्ने देखिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा दिन नसकेको विषय टड्कारो छ । 

यातायात मन्त्री रघुवीर महासेठको जागिर खतरामा परेको भए पनि राम्रो लबिइङका कारण उनी सुरक्षित रहेको समेत बताउन थालिएको छ । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ