रुकुममा राज्य आतंक, कांग्रेसले गरेको खेलकुद कार्यक्रममा नेकपाको आदेशमा प्रहरी हस्तक्षेप
जनार्दनलाई चित्त नबुझेपछि कांग्रेसको कार्यक्रममा प्रहरी हस्तक्षेप, भलिवल खेल्ने स्थान र नेट प्रहरी कब्जामा
प्रकाशित २०७५ कार्तिक ५ सोमबार
997
Shares
रुकुम। रुकुममा नेपाली कांग्रेसको भातृ संस्था लोकतान्त्रिक खेलकुद संघले गरेको खेलकुद कार्यक्रम रोक्न सरकारले प्रहरी प्रसासन लगाएर आतंक मच्चाएको छ।
पूर्व गृहमन्त्री समेत रहेका रुकुम पश्चिमका सांसद तथा नेकपाका नेता जनार्दन शर्माको आदेशमा नेपाली कांग्रेसको भातृसंस्था लोकतान्त्रिक खेलकुद संघले रुकुम पश्चिम वाफिकोट गाउँपालिका वडा ६ मगमा आयोजित भलिवल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम प्रहरीले आएर रोकेको छ। एकाविहानै परिचालन भएका दर्जनौ प्रहरीले आतंक मच्चाउँदै भलिवल खेलकुल स्थलका साथै नेट तथा भलिवल कब्जा गरेको छ।
लोकतान्त्रिक खेलकुद संघले कार्तिक ३ गते देखि आयोजना गरेको कार्यक्रममा शुरुदेखि नै नेकपाका स्थानिय नेता कार्यकर्ताहरुले भाड्ने प्रयास गरेका थिए। कार्यक्रममा स्थानियहरुको उत्साहजनक सहभागिता जनाएपछि उनीहरु हच्किएका थिए। भलिवल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम २३ टीमले सहभागिता जनाए पछि ३ गतेदेखि भएको कार्यक्रम ४ गते पनि सञ्चालन भएको थियो।
४ गते दिउँसो वाफिकोट गाउँपालिका वडा ६ले प्रहरी लगाएर कार्यक्रम भाड्ने प्रयास गर्यो। रुकुम पश्चिमको स्थानिय प्रसासनले नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरेर कार्यक्रम भाड्न खोज्यो। जनार्दन शर्माको ठाडो आदेशमा कार्यक्रम रोक्न गएको प्रहरी स्थानियहरुको प्रतिरोध पछि फर्किएको थियो।
प्रहरीले स्थानिय सरकारबाट अनुमति नलिएको भन्दै नेकपाका नेताहरुको आदेशमा रोक्न खोजेको भन्दै स्थानिय जनताले प्रसासनको कडा विरोध गरेपछि प्रहरी केहि पछि हटेको थियो।
वाफिकोट ६ नम्वर वडाका वडा अध्यक्ष तथा शर्माका निकट नेकपाका कार्यकर्ता मनोज अधिकारीले आफूहरुले कुनै पनि हालतमा कार्यक्रम गर्न नदिने भन्दै तर्साउन थालेपछि कांग्रेस कार्यकर्ताहरुले सत्ताको आडमा भएको ज्यादतीको विरोध गरेका थिए।
लोकतान्त्रिक खेलकुद संघले गरेको कार्यक्रमलाई प्रभावित बनाउन शर्मा निकट प्रगतिशिल यूवा क्लवले वाफिकोट सात नम्वर वडामा समानान्तर कार्यक्रम गरेको थियो। क्लवको कार्यक्रममा ६ टीम मात्र सहभागि भएका थिए। कांग्रेस निकट संघको कार्यक्रममा २३ टीम र नेकपा निकटको कार्यक्रममा जम्मा ६ टीम मात्र सहभागि भएपछि लोकप्रियताको कसीमा कमजोर भएको महसुस गरि नेकपाका स्थानियदेखि केन्द्रीय नेताहरु कार्यक्रम विथोल्न लागिपरेका स्थानिय कांग्रेसका नेता कार्यकर्ताहरु बताउछन्।
प्रगतिशिल यूवा क्लव भने जिल्ला प्रसासनमा दर्ता समेत नभएको बुझिएको छ। कार्तिक ४ गते तनावका बीच कार्यक्रम भएपनि सहमति जुटाउने प्रयास अन्तर्गत संघसँग आवद्ध अन्तराष्ट्रिय खेलाडी तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी जनक कुमार वाठा सहित ३ जना वार्ताका लागि गए पनि आक्रमणको प्रयास भएपछि उनीहरु त्यहाँबाट निस्किएका थिए।
कुनै पनि हालतमा संघले गरेको कार्यक्रम रोक्ने योजनामा रहेको नेकपाले सोमबार बिहान भने प्रहरी परिचालन गरि कार्यक्रमस्थल कब्जा गरि भलिवल खेल्ने नेट समेत निकालेर लगेको छ। १० लाख भन्दा खर्च गरि गरिएको खेलकुद कार्यक्रम प्रहरी बल प्रयोग गरेर रोकेपछि स्थानिय कांग्रेसका नेता तथा संघका पदाधिकारीहरुले सिडिओ शम्भु प्रसाद रेग्मी र डिएसपी सुमित खड्कालाई खेलकुद कार्यक्रमलाई यथावत सञ्चालन गर्न माग गर्दै ज्ञापन पत्र दिएका छन्। रुकुम मुसिकोटकै स्थानिय डिएसपी खड्काले शर्माको आदेशमा कार्यक्रम रोकाएको भन्दै वाफिकोटका स्थानियहरुले शर्मा र डिएसपीको समेत विरोध गरेका छन्।
पार्टीको कार्यक्रम हुँदा शान्ति सुरक्षा दिनुपर्ने प्रहरीले सत्तारुढ पार्टीको नेताको आदेशमा कार्यक्रम रोकाउने कार्य लोकतान्त्रिक नभएको भन्दै स्थानिय नागरिकहरुले विरोध जनाएका छन्।
रुकुममा तत्कालिन माओवादीका नेताहरुले अहिले पनि शसस्त्र द्वन्दकै समयमा जस्तो व्यवहार गरिरहँदा अहिले पनि लोकतन्त्रको अनुभुति नभएको स्थानिय अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुले बताएका छन। अब हामीले हाम्रो पार्टीका गतिविधी गर्न पनि स्थानिय नेकपाका नेताहरुको अनुमति लिनुपर्ने हो की जनार्दन शर्माजीलाई खुसी पार्नु पर्ने हो भन्ने उनीहरुले प्रश्न गर्न थालेका छन्। गृहमन्त्रालयको नेतृत्व गरेका राम बहादुर थापाले यस बारेमा के गर्छन की शर्मालाई नै खुसी पार्न कार्यक्रम रोक्छन स्थानियहरु हेरिरहेका छन्।