arrow

जाग्दै कांग्रेस

logo
प्रकाशित २०७५ कार्तिक ५ सोमबार
congress-flag2.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस तिहारको पूर्वसन्धामा जाग्ने भएको छ । काँग्रेसभित्रै प्रतिपक्षीको भूमिकामा पार्टी नेतृत्व चुकेको आरोप लागिरहँदा अब काँग्रेस सशक्त भएर उत्रने देखिएको छ । 

नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको दुई तिहाईको सरकारले महंगी बढाइरहँदा, देशमा हत्या, हिंसा, बलात्कार बढिरहँदा र सुशासनको धज्जी उडीरहँदासमेत काँग्रेसले खवरदारी गर्न नसकेको आरोप लाग्दै आएको छ । 

काँग्रेस कुनै योजना बिना नै अगाडि बढिरहेको आरोपसमेत लाग्दै आएको छ । पार्टीभित्र गुटउपगुट भएकै कारण पार्टीले निश्चित एजेन्डा बोक्न नसकेको आरोप लाग्दासमेत काँग्रेस चुप लागेर बसेको भन्नेहरुको स्वर बढ्दो छ । 

प्रमुख प्रतिपक्षीको काम सरकारलाई सही मार्गमा हिँड्न दवाव दिनु हो । राम्रा काममा साथ दिनु हो । यतिबेला केपी शर्मा ओली नेतृत्वको सरकार समेत गलत बाटोमा हिंडिरहेको आरोप लाग्दा काँग्रेसले दवावमुलक कार्यक्रम ल्याउन नसकेको आरोप लागेको छ । 

काँग्रेस कहिल्यै प्रतिपक्षको भूमिका निभाउन नसक्ने पार्टी भनेर पनि चिनिन थालेको छ । काँग्रेससंग अहिले थुप्रै मुद्धा भइरहँदा समेत उठाउन नसकेको अरोाप लागेको छ । 

काँग्रेसले बलात्कार, हत्या लगायतका घटना बढिरहँदा सरकारलाई शान्ति सुरक्षा कायम गर्न दवाव दिन नसकेको आरोप छ । निर्मला हत्या प्रकरणमा पनि काँग्रेस फितलो देखिएको छ । 

काँग्रेसले चिकित्सा शिक्षा विधेयक, बूढीगण्डकी जलविद्युत् आयोजना, वाइडबडी जहाज खरिद प्रकरण, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सुदूरपश्चिमको राजधानी मुद्दामा समेत भूमिका खेल्न नसकेको आरोप लागेको छ । 

के भन्छन् काँग्रेस प्रवक्ता शर्मा ?
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा संसदमा कुर्सी तोडफोड गर्दा र सडकमा टायर बालेर हिंसा बढाउँदामात्र प्रतिपक्षीको भूमिका सशक्त हुन्छ भन्ने नसोच्न आग्रह गर्दै भन्छन् –काँग्रेसले विभिन्न माध्यमबाट झक्झक्याउने काम गरिरहेको छ । राष्ट्रिय मुद्दामा पार्टीको बैठक र बैठक नहुँदा पत्रकार सम्मेलन गरेरै सरकारलाई सचेत गराइरहेको उनको भनाइ छ । 

उनले सरकारले बढाएको महंगी लगायतको विरोध गर्दै तत्काल महंगी घटाउन दवाव दिन ७७ वटै जिल्लामा विरोध कार्यक्रम गरिने जनाएका छन् । 

यसअघि गत असोज २८ गते सबै जिल्लामा विरोध कार्यक्रम गर्ने निर्णय भएको थियो । तर काँग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधन भएपछि उक्त कार्यक्रम स्थगित भएको थियो । 

प्रवक्ता शर्माले छिट्टै यसको निर्णय गरेर दवावमुलक कार्यक्रम गर्ने बताए ।

जाग्दै काँग्रेस 
अब भने काँग्रेस जाग्ने अनुमान गरिएको छ । आन्तरिक रुपले गुट उपगुटमा लागेको काँग्रेस महासमिति बैठकको तयारीमा छ । काँग्रेसको नयाँ विधानका लागि विधान संशोधन समितिले धमाधम काम गरिरहेको छ । यो संगै काँग्रेस चलायमान हुने प्रवक्ता शर्माको विश्वास छ । 

काँग्रेसले चाडबाडको चियापान कार्यक्रमसंगै आफूलाई अझ बढी चलायमान बनाउने रणनीतिमा रहेको छ । काँग्रेसको चियापान कार्तिक १६ गते हुँदैछ । 

विपक्षीले भूमिका खेल्न नसकेको भनिएपछि काँग्रेसका नेताहरु विपक्षी भूमिका खेल्नका लागि रणनीति बनाउनु पर्नेमा समेत जोड दिँदै आएका छन् । 

आन्तरिक किचलोलाई अन्त्य गरी काँग्रेस सशक्त भएर उभिने विश्वास कायमै छ । मूल्यवृद्धिको विरोध ७७ वटै जिल्लामा एकैपटक गरिँदा सरकारसमक्ष त्यसको तरंग जाने विश्लेषण गरिएको छ । 

तर काँग्रेस निरन्तर तात्छ कहिले भन्ने प्रश्न भइरहने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ