नेकपा टकरावः माधव नेपालको ओली र प्रचण्डलाई कस्तो च्यालेन्ज ?
बबण्डर हुँदैछ स्थायी कमिटी बैठकमा
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
569
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको तेस्रो वरियतामा रहेका वरिष्ठ नेता माधवकुमार नेपालले जतिसुकै च्यालेन्ज दिए पनि त्यसले पार्टीमा प्रभाव नपार्ने देखिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको काम कार्वाही र नेकपाभित्र अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डले देखाएको रबैयाप्रति असन्तुष्ट नेपालले सचिवालय बैठकमा पनि तीव्र असन्तुष्टि पोखेका छन् ।
आइतबार र सोमबार बसेको सचिवालय बैठकमा उनले आफ्ना माग दह्रो तरिकाले राखे । सचिवालय स्रोतका अनुसार नेपालले आफ्नो प्रभुत्व जमाउन भरपूर ढंगले उदाहरण दिँदै विचार राखेका थिए । आफ्नो पनि हैसियत रहेको दरिलो उपस्थिति प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा नेता नेपालले राखेका थिए ।
तर उनको असन्तुष्टि पूरा गर्नेतर्फ भने नेतृत्वले केही कदम नै चालेन । स्रोत भन्छ ‘उहाँका कुरा मज्जाले सुनियो । कुरो सकियो ।’
नेता नेपालले असोज २२ गतेको सचिवालयको बैठकमा लिखित असन्तुष्टि दर्ता गरेका थिए । बैठकले नेता नेपालको असन्तुष्टि सम्बोधन नगरी गत असोज ५ गतेको सचिवालयको बैठकले प्रदेशको जिम्मेवारी बाँडफाँट गर्ने निर्णय नै सदर गरेपछि बैठकमा नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।
प्रदेश कार्यविभाजन प्रति नारायणकाजी पनि सन्तुष्ट छैनन् । नेपाल र नारायणकाजी पार्टी नेतृत्वबाट चेपुवामा परेका भएकाले यसपटक नेपाललाई श्रेष्ठले साथ दिएका हुन् ।
नेता नेपालले आफू विदेश भएका बेला २८ भदौमा बसेको सचिवालयको बैठकको मर्म, भावना लत्याएर प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकिएको भन्दै असन्तुष्टि व्यक्ति गर्दै आएका छन् ।
नेता श्रेष्ठ भने डा गोविन्द केसी आमरण अनसनमा रहेका बेलामा भेट्न गएको भन्दै नेतृत्वबाट स्पष्टिकरण सोधिएपछि रुष्ट छन् । उनले त्यसपछि तत्कालै पार्टीको प्रवक्ताबाट राजीनामा दिएका थिए ।
त्यो राजीनामा सोमबारको सचिवालय बैठकले अस्वीकृत गरेको थियो । आफू बोल्नसमेत र कसैलाई भेट्न समेत अध्यक्षको स्वीकृति लिनुपर्ने भए किन प्रवक्ता बस्ने भन्दै उनले राजीनामा दिएका थिए ।
बबण्डर हुँदैछ स्थायी कमिटी बैठकमा
दुई दिने सचिवालय बैठकमा नेताहरुबीच त्यति तिक्तता नभए पनि स्थायी कमिटी बैठकमा बबण्डर हुने भएको छ । सचिवालय बैठकमा नेता नेपाल र श्रेष्ठले लेखेको ‘नोट अफ डिसेन्ट’लाई स्थायी कमिटीको बैठकमा छलफलका लागि प्रस्तुत गरिने समझदारी भएपछि स्थायी कमिटी बैठक थप रोचक बन्ने भएको हो ।
‘सचिवालय बैठकमा वरिष्ठ कमरेड नेपालका कुरा मात्र सुनिए । प्रतिक्रिया कसैले जनाएनन् । प्रतिक्रिया जनाएको भए बबण्डडर हुन्थ्यो होला । अब स्थायी कमिटी रोचक होला ।’ एक सचिवालय नेताले बताए ।
स्थायी कमिटी बैठक कार्तिक १३ र १४ गते बस्दैछ । सचिवालय बैठकमा आफू पेलिएको भन्दै स्थायी कमिटी बैठकमा आफ्नो पावर देखाउने घुर्कीसमेत माधव नेपालले दिन थालेका छन् ।
हुन त ओली र प्रचण्डले गल्ती सच्याउँदै अगाडि बढ्ने जनाएका छन् । तर उनीहरुको यो भनाइ तत्काललाई थामथुम पार्ने बाहेक केही देखिँदैन ।
अब नेता नेपालले स्थायी कमिटी बैठकमा कस्तो बबण्डर गर्लान् त भन्ने कौतुहलता बढेको छ ।