कांग्रेस नेता पौडेलद्धारा जापानमा राजदूत राणासँग भेट
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
253
Shares
टोकियो। जापान भ्रमणमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले टोकियोमा राजदूत प्रतिभा राणासँग भेटवार्ता गर्दै नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिएका छन्। भेटका क्रममा राजदूत राणा सहित दूतावासका पदाधिकारीहरुले जापानमा हाल विविध क्षेत्रमा गरी ८० हजार भन्दा बढी नेपाली रहेको जानकारी दिएका थिए। नेता पौडेलले जापानमा स्थानीय भाषा र आवश्यक सीपको अभावमा धेरै नेपालीहरुले समस्या झेलिरहेको तर्फ ध्यानाकर्षण गराएका थिए।
जापान सरकारले नेपालका विभिन्न तह र तप्काका व्यक्तिहरुलाई उपलब्ध गराउँदै आएको छात्रवृत्तिको कोटा बढाउन राजदूतावासले थप पहल गर्नुपर्ने पौडेलले बताए।
नेपालमा अझ धेरै जापानी पर्यटकहरु पठाउन समेत दूतावासले ठोस कार्यक्रम संचालन गर्नुपर्ने सुझाव पौडेलले दिए। यसैबीच पौडेलले जापानी अधिकारीहरुसँग भेटवार्ता गर्दै नेपालको विकासमा जापानले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन्।
सन् १९५६ मा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएयता जापानले नेपाललाई गरिरहेको सहयोग सबैका लागि उदाहरणीय भएको पौडेलले बताए।