हजुरवालाई केटाकेटी मन्त्रीले अप्ठ्यारो पारेकोमा शितल निवासमा चर्चा
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
495
Shares
काठमाडौं। दुई तिहाईको सरकारले अपेक्षा अनुसारको काम गर्न नसकेको बारेमा जनमानसमा जति चर्चा छ त्यतिकै शक्ति केन्द्रहरुमा पनि यो बिषयमा छलफल हुन थालेको छ। खासगरि सरकारको कामलाई अहिले नजिकबाट नियाल्ने र सुझाव दिने काम शितल निवासबाट भइरहेको तथ्यहरु एकपछि अर्को गर्दै फेला परेका छन्।
वामदेव गौतमलाई सांसद बनाउने व्यापक चर्चा शितल निवासले चर्चामै सिमित गरिदियो। गौतमलाई सांसद बनाएर ल्याउँदा झनै सरकार अस्थिर हुने आशंका पछि शितल निवासले गौतमको सांसद बन्ने च्याप्टर क्लोज गरिदियो। शितल निवासको समेत सल्लाह पछि नेकपाको सचिवालयले गौतमलाई सांसद बन्न राजिनामा दिने घोषणा गरेका काठमाडौं ७ का सांसद रामविर मानन्धरलाई राजीनामा नदिन निर्देशन दियो।
सरकार सिंहदरवार र वालुवाटारबाट चलिरहेपनि सरकारको गतिविधीलाई नजिकबाट नियालेर सरकारलाई सल्लाह परामर्श दिनेमा अहिले राष्ट्रपति कार्यालय शितल निवास अघी आएको छ। सरकारका गतिविधी, सरोकारवालाका चासो र जनमानसमा भइरहेका चर्चालाई समेटेर शितल निवासले सरकारलाई सुझाव पनि दिन थालेको स्रोतको भनाइ छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले केहि समयअघीदेखि नेकपाका नेताहरुका अतिरिक्त समाजका विभिन्न क्षेत्रका सरोकरलावाहरुसँग छलफल गरि उनीहरुका सुझावलाई समेत समेटेर सरकारलाई आफ्नो राय समेत राखेर सुझाव दिन थालेकी छिन। वीपी कोइरालाको दुई तिहाईको सरकार पनि अनेक षडयन्त्रमा परि पुरा समय काम गर्न नपाएको झै केपी ओली नेतृत्वको सरकार पनि त्यस्तै षडयन्त्रको शिकार हुन सक्ने भन्दै राष्ट्रपति भण्डारीले आफूले बोलाएका व्यक्तिहरुलाई सरकारलाई सहयोग गर्न आग्रह गर्दै आएकी छिन।
सरकारको कमीकमजोरी, सुधार्ने ठाउँका बारेमा समेत राष्ट्रपतिले निम्तालुहरुसँग जानकारी लिने गरेकी छिन्। सरकारका मन्त्रीहरुले कस्तो काम गरेका छन् उनीहरुका बारेमा जनमानसमा कस्तो छाप परेको छ राष्ट्रपतिले प्रश्न गर्ने गरेकी छिन्।
राष्ट्रपति सक्रिय हुन खोजेको अर्थ पनि नलागोस भनेर सचेत हुन पनि खोजेकी भण्डारीले नीति तथा कार्यक्रममा भनिएका कुराहरु कति कार्यान्वयन भयो भएन भनेर सरकारलाई सोध्ने तयारी पनि गरेकी छिन। त्यसो गर्दा राष्ट्रपति सक्रिय भएको अर्थ लाग्ला की नलाग्ला भनेर उनले आफ्नो नम्तोमा आएकाहरुलाई सोध्ने गरेकी छिन्। असोज २५ को यस्तै एक भेटमा सञ्चार क्षेत्रका जिम्मेवारहरुले राष्ट्रपतिले नै संसदमा वाचन गर्ने भएका कारण नीति तथा कार्यक्रम भएका प्रगतिको बारेमा सोध्ने कुराले राष्ट्रपति सक्रिय भएको अर्थ नलाग्ने सुझाव दिएका थिए। राष्ट्रपति कार्यालयले पनि सरकारलाई यस बारेमा सोधी पठाउने र नियमित रुपमा सरकारका गतिविधीलाई निगरानी राख्दै आफ्नो राय सहितको सुझाव पठाउने तयारी गरेको पाइएको सोहि भेटका सहभागीले हाम्राकुरालाई बताए।
सरकारलाई सफल बनाउन प्रधानमन्त्रीका सहयोगीका रुपमा रहेका मन्त्रीहको भूमिका महत्वपूर्ण हुने भन्दै मन्त्रीहरुको बारेमा पनि राष्ट्रपतिले बिशेष चासो व्यक्त गरेकी छिन। सरकारका कतिपय मन्त्रीहरु विवादबाट माथि निस्कन नसकेको, अनावश्यक विवादमा पर्ने गतिविधी गरेको र मुखलाई लगाम लगाउन नसक्दा सरकार नै विवादमा परेको राष्ट्रपतिलाई सहभागिहरुले बताएका थिए। सञ्चारमन्त्री गोकुल वास्कोटा, मातृका यादव लगायतका मन्त्रीहरुका कारण सरकार अनावश्यक विवादमा तानिएको बारेमा सुनेपछि राष्ट्रपतिले चिन्तायुक्त हाँसो रोक्न नसकेको सो भेटमा सहभागि स्रोतले बतायो। राष्ट्रपतिले प्रधानमन्त्री केपी ओलीलाई हजुरबाको उपमा दिदै भनेको स्मरण गर्दै स्रोतले भन्यो ' हजुरबालाई केटाकेटी मन्त्रीले अप्ठ्यारो पो पारेछन त। '
वैठकमा सहभागि स्रोतले राष्ट्रपति कार्यालयले सरकारका मन्त्रीहरुको रिपोर्ट कार्ड प्रधानमन्त्रीलाई दिने तयारीमा रहेको आफूहरुले पाएको बताए। सरकारको पफर्मेन्सन देखिनुमा विभागीय मन्त्रीहरुको काम गर्ने शैली पनि दोषी रहेको निष्कर्षमा राष्ट्रपति कार्यालय पुगेको आफूहरुले पाएको स्रोतले बतायो।
दशैको आसपासमा भइरहेका विभिन्न गृहकार्यकै बीचमा प्रधानमन्त्री ओली निकट भक्तपुरका सांसद महेश बस्नेतले सरकारका मन्त्रीहरु फेरवदल हुन सक्ने बताएका थिए। नेकपाकै कतिपय नेताहरुले पनि सरकारका मन्त्रीहरु परिवर्तन हुनेसक्ने सार्वजनिक रुपमै बताइसकेका छन्। प्रधानमन्त्री सचिवालय पनि सबैतिरको राय सुझाव र प्रतिक्रिया हेरेर यस बारेमा प्रधानमन्त्रीसँग छलफलमा रहेको बताइएको छ। राष्ट्रपति कार्यालयको अभिभावकीयसँगै परामर्शदातृ भुमिकाले पनि सरकारका मन्त्रीहरुको फेरवदल हुने कुरालाई भने बल पुर्याएको छ। प्रधानमन्त्रीका तर्फबाट निर्णय कहिले आउने हो त्यो भने केहि समय कुर्नु पर्ने छ।