arrow

रामपुरका कुमाल समुदायले नचाए मारुनी नाच

logo
सीता डोटेल,
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
maruni-dance.jpg

पाल्पा (रामपुर)। रामपुर नगरपालिका ६ तिलकपुरका कुमाल समुदायले दशैंको पुर्णिमाको अबसर पारेर मारुनी नाच प्रदर्शन गरेका छन्। वडा दशैंको र तिहारको अवसरमा कुमाल संस्कृतिमा आधारित रहेको लोपन्मुख मारुनी नाच प्रदर्शन गरेका हुन्। बिशेष गरि पाल्पामा मगर समुदायले मारुनी नाच प्रर्दशन गर्दै आउने गरेपनि यस क्षेत्रमा भने कुमाल समुदायले पनि बिभिन्न चरित्रमा रहेर मारुनी नाच नाच्ने गर्दछन्।

कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले गरिएको कार्यक्रम जनज्योति कुमाल आमा समुह र समाज सुधार क्लव तिलकपुरको व्यवस्थापनमा तिलकपुर चारपाटेमा मारुनी प्रर्दशन गरिएको हो। कार्यक्रममा कृष्णादेवी समाज सुधार कुमाल समुह रामपुर २ भलायटारको टोलीले कुमाल समुदायको परम्परा रहनसहन, कला, संस्कृति र जीवन शैलीमा आधारित रहेर मारुनी नाच प्रदर्शन गरेका थिए।

मारुनी नाचमा कृष्ण चरित्र, रामायणका बिभिन्न अंशहरु तथा सोरठीका बिभिन्न अंगहरुलाई समेटेर गाउने र नाच्ने गरिएको थियो। भर्खरका युवादेखि बृद्ध पुरुषहरु चोली, सारी, फरिया पटुकी लगाई कण्ठ, डोरी र टिका चुरा सहितका महिलाका भेषभुषामा सजिएर मारुनी तयार देखिन्थे भने र्सट लुङ्गी, टाउकोमा सेतो फेरो र घाटीमा गलबन्दी बेरेर मारुनीका वरिपरि नाच्ने पुर्छुङ्गेको नाचले दर्शकलाई रौनकता थपेको थियो।

मारुनी गायनमा सहभागी पुरुषहरु पनि भेषभुषामा सजिएका थिए भने महिलाहरु पनि सजिएर गायनमा साथ दिएका थिए। उनीहरुले बिभिन्न खण्डमा मारुनी देखाएका थिए भने सहभागी कुमाल समुदायले कौरा तथा सामुहिक र अन्य एकल नृत्य प्रस्तुत गरि रमाइलो गराएका थिए।

मारुनी नाचको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरका बिभिन्न स्थानमा बसोबास गर्ने समुदायले आ–आफ्नो कला जगेर्ना र प्रस्तुत गर्नाले नगरमा कला संस्कृति बाचिरहेको बताए। समुदायको पहिचान र मुख्य गहना कला संस्कृति र भेषभुषा रहेको बताउदै थापाले यसका लागि नगरपालिकाले बिभिन्न वडामा कार्यक्रम लगेर लोप हुन लागेका मौलिक संस्कृतिको संरक्षणमा नगरपालिका लागेको बताए।

संस्कृतिको संरक्षणको लागि नगरपालिकाले डकुमेन्ट्री तयार पार्न लागेको जानकारी दिदै नगर प्रमुख थापाले आफ्नो समुदायको संस्कृतिको रक्षाको लागि समुदाय आफै  जाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेय, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, कुमाल समाजका प्रदेश संयोजक गणेश कुमार कुमालले कुमाल समुदायको पेशाको संरक्षणको लागि आधुनिक प्रविधिमा जोड दिन आवश्यक रहेको बताउँदै संस्कृतिको जगेर्ना गर्दै समाजमा विधमान विकृतिहरुको निर्मुल गरि अघि बढ्न आग्रह गरेका थिए।

यसैविच समुदायका जेष्ठ सदस्य ८७ बर्षिय नवली कुमाललाई आमा समुहले सम्मान गरेको छ। मारुनीको साथमा विभिन्न रमाईला गित तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो। सांस्कृतिक जनज्योति कुमाल आमा समुहका अध्यक्ष ज्ञानुमायाँ कुमालको अध्यक्षयता भएको कार्यक्रम उपाध्यक्ष विष्णु मायाँ कुमालको स्वागत, वडा नं. ६ का वडा सदस्य एवं आमा समुहका सल्लाहाकार लोक मायाँ कुमालको धन्यवाद र समाज सुधार युवा क्लवका सचिव गणेश कुमालको संञ्चालनमा भएको हो।

यसै अबसरमा क्लबले आयोजना गरेको वडाका युवाहरु विचको टोल स्तरिय भलिबल प्रतियोगिताको पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रमण बहादुर थापाले प्रदान गरे। प्रतियोगितामा प्रथम हुने रामपुर ६ तिकलपुर स्कुलरोडको समूह, द्वितिय आयोजक चारपाटे टोलको समूह, तृतीय ख‍र्‍यानबारी टोलको समूह भएका थिए। विजयी समुहलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार प्रदान गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ