निर्मला हत्या : जागिर खोसिएका विष्टलाई स्वतन्त्र घुम्न नदिन माग, विष्ट भन्छन्–अदालत जान्छु
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
309
Shares
काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमाण मास्न अनेक हर्कत गरको आरोपमा गृह मन्त्रालयले बर्खास्त गरेका एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई थुनेर कारबाही हुनुपर्ने माग उठेको छ ।
कञ्चनपुरका स्थानीयले प्रमाण मास्नेलाई हत्याबारे सबै थाहा भएको भन्दै उनीहरुलाई स्वतन्त्र छोड्न नहुने बताएका हुन् ।
स्थानीय नागरिक समाजका अगुवाहरुले भनेका छन्, ‘यो पीडित र कञ्चनपुरका स्थानीयको आँखामा छारो हाल्ने काम पनि हुनसक्छ । किन भने गृहले बर्खास्त गर्दा भविष्यमा सरकारी सेवाका लागि योग्य नै रहने भनेको छ । यसको अर्थ विष्ट अदालत जाने र त्यहाँबाट फेरि पुनःवहाली हुने ठाउँ पनि छ ।’
गृहले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको भनेको छ । नभन्दै एसपी बिष्टले आवश्यक कानुनी उपचारका लागि अदालतको ढोका ढक्ढक्याउने बताइसकेका छन् । गृह मन्त्रालयले सेवाबाट निकालेको निर्णय सुन्नेवित्तिकै एसपी बिष्टले सरकारको निर्णयबिरुद्ध कानुनी उपचारमा जाने चेतावनी दिए ।
गृह मन्त्रालयले दुईपटक स्पष्टीकरण सोधेपछि एसपी बिष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई बिहीबार सेवाबाट हटाइएको थियो । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हराएको दिन खोज्न नमानेको, भोलिपल्ट शव भेटिँदा प्रमाण मेटाउन अनेक हर्कत गरेको, त्यतिमात्र नभई घरमा नभएका बुबाको नक्कली औंठाछाप लगाएर शव बुझ्न लगाएको, धम्की दिएको आरोप विष्टमाथि छन् ।
त्यो बेला बिष्टले कञ्चनपुर प्रहरीको नेतृत्व गरेकाले अनुसन्धानमा भएका गल्ती कमजोरीको जिम्मा पनि उनैले लिनु पर्ने आम भावना थियो भने, गृहले गठन गरेको उच्चस्तरीय छानविन समितिले समेत दोषी करार गरेकै हो ।