arrow

निर्मला अनुसन्धान काण्डमा बर्खास्त गरिएका एसपी विष्ट फेरि प्रहरीमा फर्कन सक्छन् 

विष्ट र भट्टलाई अरु कार्वाही पनि हुन सक्छ 

logo
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
dilliraj-bista-jagadish-bhatta-sacked.jpg

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि बलात्कारको घटनामा दोषी देखिएका तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रमुख उपरीक्षक एसपी दिल्लीराज विष्ट फेरि नेपाल प्रहरीकै जागिरमा फर्कन सक्ने सम्भावना कायमै रहेको छ । 

गृह मन्त्रालयले बिहीबार विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई बर्खास्त गरेको थियो । तर बर्खास्त गरिएको पत्रमा ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको’ उल्लेख छ । 

योसंगै उनी कानुनी उपचारका लागि अदालतको ढोका ढक्ढक्याउन सक्नेछन् । विष्टले आवश्यक कानुनी उपचारका लागि अदालतको ढोका ढक्ढक्याउने बताइसकेका छन् ।

गृह मन्त्रालयले सेवाबाट निकालेको निर्णय सुन्नेवित्तिकै उनले सरकारको निर्णयबिरुद्ध कानुनी उपचारमा जाने चेतावनी दिएका छन् । 

फेरि फर्किन सक्छ पद– प्रवक्ता सुवेदी
नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले विष्टलाई गरिएको कार्वाहीबारे चित्त नबुझे अदालतमा जान सक्ने बताएका छन् । हाम्राकुरासंग उनले भने, ‘गृहमन्त्रालयको निर्णय चित्त नबुझे कानुनी सहायता लिन सकिन्छ ।’

सुवेदीका अनुसार अब विष्टले केवल अदालतको आदेश लिएर आएमात्र फेरि प्रहरीमा जागिर खान सक्नेछन् । होइन भने विष्टका लागि प्रहरीको जागिरमा ढोका बन्द भएको छ । प्रहरी निरीक्षक भट्टको हकमा पनि त्यही लागु हुन्छ । 

गृहमन्त्रालयले सरकारी सेवामा ‘अयोग्य नठहरिने गरी’ बर्खास्त गरिएको उल्लेख गरेको छ । यो शब्दले अन्य सरकारी सेवामा उनले जागिर खान पाउँछन् भन्ने हो । 

पक्राउ पर्न सक्छन् विष्ट 
विष्टलाई बर्खास्त गरेपछि निर्मला हत्याकाण्डमा उनको कार्वाही सकियो भन्ने हैन । प्रहरी प्रवक्ता सुवेदीका अनुसार अहिले गरिएको कार्वाही उक्त घटनामा लापरवाही गरेकाले मात्रै हो । 

तर त्यो हत्यामा उनी पनि संलग्न रहेको पाइयो भने अर्को कार्वाही हुनेछ । नागरिक समाजबाट पनि उनलाई पक्राउ गरी कार्वाही गर्न माग गरिएको छ ।  

उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले गठन गरेको दुई छुट्टाछुट्टै समितिले उक्त घटनामा एसपी विष्ट र प्रहरी निरीक्षक भट्टले कर्तव्य निर्वाहमा चुकेको र केही शंकास्पद गतिविधिसमेत गरेको पाइएपछि उनीहरूलाई सेवाबाट हटाउन गरिएको सिफारिस कार्यान्वयन गरेको गृह मन्त्रालयले जनाएको छ।

निर्मला हत्या प्रकरणमा प्रहरीबाट चरम लापरबाही, गैरव्यवसायी र गैरजिम्मेवारीपूर्ण व्यवहार गरी पालना गर्नुपर्ने अनुसन्धानका सामान्य कानुनी व्यवस्थासमेत पालना नभएको तथ्य फेला परेको तथा तत्कालीन प्रहरीबाट अनिवार्यरूपमा गर्नुपर्ने खोजतलास तथा अनुसन्धानमा चरम लापरबाही भएको भन्दै मन्त्रालयले बर्खास्ती गरेको जनाएको छ।

गत साउन ११ गते निर्मलाको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएको थियो । घटनामा संलग्नहरुलाई कानुनी दायरामा नल्याइएको भन्दै चर्को आलोचना भएको छ । 

उक्त घटनापछि मुलुकभर सरकारविरुद्ध प्रदर्शन हुनुका साथै महेन्द्रनगरमा प्रहरीले चलाएको गोली लागेर सन्नी खनाको मृत्यु भएको थियो। दुई दर्जन घाइते भएका थिए । एक जनाको अवस्था अझै पनि गम्भीर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ