सरकारका कोरा नाराले जनता वाक्क दिक्क : प्रदीप पौडेल
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
574
Shares
टोकियो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारको कोरा नाराका कारण आम जनता वाक्क दिक्क भइसकेको बताएका छन्। जापानको राजधानी टोकियोमा नेपाल पत्रकार महासंघ जापान शाखाले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सरकारले हावादारी गफ मात्र गरिरहेको आरोप लगाएका हुन्। “प्रधानमन्त्री केपी ओलीको हरेक भाषणमा रेल र पानी जहाजका कुरा आउँछन्, तर आठ महिना बितिसक्दा पनि ती विषयमा कुनै सिन्को भाँचिएको छैन ” पौडेलले भने।
दुई तिहाईको सरकारबाट जनताले धेरै आशा गरेपनि प्रधानमन्त्री स्वयंको त्यस्ता हावादारी गफका कारण जनता निराश भएको पौडेलको भनाइ थियो। “चिल्ला मिठा गफ गर्दै प्रधानमन्त्री ओलीले गरीब निमुखा जनताको भोट तान्ने काइदा मात्र गर्नुभयो, के हाम्रा क्रान्तिकारी प्रधानमन्त्री ओलीको योग्यता यति मात्र हो ”पौडेलको प्रश्न थियो।
असुरक्षा, महंगी, फितलो प्रशासन, जर्जर भौतिक पूर्वाधारका कारण नेपालीहरुको दैनिकी कष्टकर हुँदा समेत सरकार मूकदर्शक हुनु राष्ट्रिय लज्जा भएको उनले बताए। जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिए अनुसार कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको भन्दै पौडेलले सरकारको सही काममा कांग्रेसको साथ रहने प्रतिबद्धता व्यक्त गरे।
आम कांग्रेसी सुधारिएको कांग्रेसको पक्षमा रहेको भन्दै पौडेलले त्यसका लागि आफूहरु निरन्तर क्रियाशिल रहिरहेको बताए। लगानीमैत्री वातावरण भएमा विदेशीका नेपालीहरु स्वदेशमै फर्कन तयार रहेकाले त्यस्तो वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो। मुलुकको अन्तर्राष्ट्रिय नीति प्रष्ट नभएकाले सार्वभौमसत्ता नै जोखिममा पर्ने खतरा बढेको उनले बताए। प्रवासी नेपालीहरु माझ समेत अत्यन्त लोकप्रिय पौडेल नेविसंघका पूर्व अध्यक्ष समेत हुन्।