बलात्कारी र हत्याराको संरक्षणमा सरकार नलागोस् : सभापति देउवा
रासस,
प्रकाशित २०७५ कार्तिक १० शनिबार
382
Shares
काठमाडौं। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन्।
नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा आज पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्नै दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताए।
“हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महीनौँसम्म पत्ता नलाग्नु कानूनी राज्यका लागि चुनौती बनेको छ, यस्ता क्रियाकलापमा संलग्नको संरक्षणमा सरकार नलागोस्, बलात्कार र हत्यामा जोसुकै संलग्न भए पनि दोषीलाई कारवाही होस्”, उनले बताए।
दलका अध्यक्ष जीतजङ्ग बस्नेतले लोकतान्त्रिक मूल्यमान्यता, सुशासन, स्थिरता र विकासका लागि सङ्गठन लागिपर्ने बताए। २००७ सालमा प्रजातन्त्रको स्थापनापछि सुदृढीकरणका लागि युवा समूह सङ्गठित गर्ने क्रममा विसं २०१० कात्तिक १० गते तरुण दलको स्थापना भएको हो।
काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले दल स्थापना गर्नुभएको थियो। तत्कालीन प्रधानमन्त्री कोइराला विसं २०१७ पुस १ गते तरुण दलकै कार्यक्रममा व्यस्त रहनु भएका बखत तत्कालीन राजा महेन्द्रबाट सेनाको शक्तिका भरमा ‘कू’ गरी कोइरालालाई पक्राउ गरी पञ्चायती शासन व्यवस्थाको सूत्रपात भएको थियो।