कांग्रेसलाई समयानुकुल चलायमान बनाउन विधान संसोधन: सिंह
प्रकाशित २०७५ कार्तिक १० शनिबार
309
Shares
काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीलाई समयअनुसार चलायमान बनाउनका लागि विधान संशोधन गर्न लागिएको बताएका छन् ।
संघीय विधान कस्तो बनाउने भन्ने छलफलकै क्रममा रहेको उल्लेरव गर्दै सिंहले कुनै नेतालाई पद दिन र व्यवस्थापन गर्ने गरि विधान संशोधन नहुने बताए ।
‘विधान कस्तो बनाउने भन्ने छलफल भइराखेको छ। प्रदेशहरूमा पुगेर पनि छलफल गरि राय, सुझाव लिइसकियो। पार्टीलाई चलायमान गर्न विधान संशोधन गर्ने हो’, काठमाडौंको टोखा नगरपालिकाका अन्तर्गत पार्टीका विभिन्न वडा कार्यसमितिले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सिंहले भने, ‘नेताका आसेपासेलाई कहीँकतै राख्न विधान संशोधन हुन्न। पार्टीलाई अघि बढाउने खालको विधान बन्छ।’
निर्वाचनपछि पार्टी लथालिंग अवस्थामा रहेको बताउँदै उनले कम्युनिष्टलाई टक्कर दिन सक्ने पार्टी कांग्रेस मात्रै भएको बताए। नयाँ खुलेका पार्टीले कम्युनिष्टसँग प्रतिष्पर्धा गर्न र विकास गर्न नसक्ने उनको भनाइ छ ।
पार्टी विभाग, संरचना र वैचारिक रूपमा पनि स्पष्ट हुने गरी अघि बढ्नुपर्ने बेला आएको उनले बताए ।