नेकपाको चियापानमा सार्वजनिक भयो असन्तुष्ट समूह, बहिस्कारको पर्चा छर्नेलाई कार्यकर्ताले कुटे
प्रकाशित २०७५ कार्तिक १० शनिबार
1.1k
Shares
काठमाडौं । एक दिन अघि मात्रै आधिकारिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम पाएको सत्तारुढ पार्टीको शुभकामना आदान प्रदान तथा चियापानमा कुटपिट भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) असन्तुष्ट समूह केन्द्रीय प्रचार समितिको नामबाट चियापान बहिस्कारको पर्चा छरिएपछि कार्यकर्ता नै कुटपिटमा उत्रिएका हुन् ।
कुटपिटमा पर्नेले कार्यक्रम स्थलमै ‘कथित चियापान बहिस्कार गरौं’ शीर्षक लेखिएको अपिल छरेका थिए । पर्चा छरेको देखेपछि नेकपाकै कार्यकर्ताले प्रहरीलाई अनुरोध गरी बाहिर निकाल्न भने । तर, प्रहरीले त्यसलाई ठूलो विषय ठानेन । प्रहरीले बाहिर ननिकालेपछि क्रुद्द कार्यकर्ताले कुट्दै कार्यक्रम स्थलबाट बाहिर निकाले ।
त्यो अपिलमा ५ बुँदे माग राखिएको छ । एमाले र माओवादी एकतामा कमजोरी भएकाले वैचारिक, सैद्धान्तिक, व्यावहारिक, सांगठनिक रुपमा ५०–५० अथवा समानताको सिद्धान्तमा एकता गर्नुपर्ने, अन्य वामपन्थी पार्टी लगायतलाई पनि एकता प्रक्रियामा ल्याउनुपर्ने, सरकारको काम प्रभावकारी नभएकाले उच्चस्तरीय सरकार सञ्चालन कार्यदल बनाउनुपर्ने, नेकपा केन्द्रीय कार्यसमिति हचुवाको भरमा बनेको हुँदा तत्काल विघटन गर्नुपर्ने र जनजीविकाको सवालमा कदम चाल्दै सुशासन कायम गर्न अपिलमा भनिएको छ ।
वरिष्ठ नेताहरुको पदलोलुपता र व्यक्तिगत इच्छाका कारण कार्यकर्ताले मनभित्रबाट एकताको खुसीयाली मनाउन नसकेको पनि असन्तुष्टि समेत त्यो अपिलमा पोखिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शुक्रबार मात्रै निर्वाचन आयोगबाट आधिकारिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम पाएको थियो । यसअघि कोष्ठमा छुुट्टा–छुट्टै ( ने क पा ) राखिएको थियो ।
त्यसको भोलिपल्ट शानिमार (नेकपा)ले काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा चियापान आयोजना गरेको हो । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठको शुभकामना दिन कार्यक्रम गरिएको नेकपाका नेताहरुले बताएका छन् ।