रोकिएन उपल्लो डोल्पाका प्राचीन गुम्बाबाट मूर्ति चोरी
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
713
Shares
त्रिपुराकोट । उपल्लो डोल्पामा रहेका प्राचीन गुम्बाबाट मूर्ति चोरीको शृङ्खला अझै रोकिएको छैन । बौद्धमार्गीको आस्थाका धरोहर गुम्बामा राखिएका शताब्दिऔँ पुराना ऐतिहासिक मूर्तिको चोरीको शृ्ङ्खला प्रत्येक वर्ष बढिरहेको छ ।
डोल्पा, शेफोक्सुण्डो गाउँपालिका–४ नाम्दोको राहाप गुम्बाबाट एक थान स्तूपसहित ४२ थान मूर्ति चोरी भएको वडाध्यक्ष पेमा वाङ्छेन गुरुङले बताए। “गुम्बाका सबै मूर्ति चोरी भयो भन्दै मलाई ६ असोजमा गाउँबाट फोन आएको थियो, कतै गाउँमै कसैले लुकाएका हुन सक्छन्, हल्ला गरे चोरी गर्ने मान्छे भाग्न सक्छ भन्दै प्रहरी मिडिया कसैलाई पनि खबर गरिएन” वडाध्यक्ष गुरुङले भने।
गत असोज ८ मा गाउँलेले गुम्बाको रेखदेखको जिम्मा दिएका कुन्साङ लामा, सोनाम गुरुङ, पेमातोर्चे लामा, थुक्तेन बुढासहित जनप्रतिनिधि भेला गर्दासमेत कुनै टुङ्गो नलागेको उनले जानकारी दिए। गुम्बामा मूर्ति असुरक्षित भएको भन्दै गुम्बा नजीकै रहेको एक खाडलमा लुकाइएको र बाटो सहज भएको केही समयपछि हेर्न जाँदा राखेको ठाउँमा नभेटिएपछि चोरी भएको प्रमाणित भएको अध्यक्ष गुरुङले बताए।
ज्यानको असुरक्षाको कारण देखाउँदै मुख्य पुजारीले गुम्बामा बस्न नसक्ने बताएपछि गाउँलेको छलफलबाट कुन्साङ, सोनाम, पेमातोर्चे र थुक्तेनको जिम्मा दिइएको थियो । राहापबाट सबै मूर्ति चोरी भएपछि गुम्बा नै रित्तिएको छ । यहाँका शे, रे, मिखिम, गाँकर, बोन र राहाप गुम्बाका सबै मूर्ति चोरी भइसकेका छन् ।
पछिल्लो तीन वर्ष यता मात्रै राहापसहित शेलरी सोम्दो, बोन, मिखिम र गाँकर गुम्बाबाट ६७ थान पुरातात्विक मूर्ति चोरी भएकामा चार थान मूर्ति मात्रै बरामद भएको प्रहरीले जनाएको छ ।
मूर्ति चोरी भएको आज मात्रै जानकारी पाइएकाले जिल्लाका मुख्य नाकामा जाँच कडाइ गरिएको छ । प्रहरीको टोली अनुसन्धानका लागि घटनास्थलमा जाने प्रहरी नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिए। रासस