रामेछापमा छलफलका लागि बोलाएर खुकुरी हानियो कांग्रेस कार्यकर्ता अर्जुन रायलाई
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
974
Shares
काठमाडौं। दुई तीहाइको बहुमत प्राप्त सत्तारुढ नेकपाको कार्यकर्ता तहबाट अन्य पार्टीका कार्यकर्ताहरु जोगिनै मुस्किल हुन थालेको छ।
केहि समययताका केहि घटनाहरुलाई नियाल्ने हो भने नेकपाका कार्यकर्ताहरु वार्ता र संवादबाट हल खोज्ने भन्दा पनि सत्ता र शक्तिको बलमा समस्याको निकास निकाल्ने प्रयासमा रहेको देखिएको छ।
वार्ता र संवादमा कायरहरु मात्र व्यस्त हुन्छन झै गरि उनीहरु आफूसँग फरक मत राख्नेहरुलाई बल प्रयोग गरेरै आफ्नो कुरा लागू गराउन उद्यत देखिएका छन्।
कुरा नमान्ने वित्तिकै सांघातिक आक्रमणमा उत्रिएर ज्यान समेत लिन पछि नपरेपछि नेकपाका स्थानिय नेता कार्यकर्ताहरुमा सत्ताको उन्माद देखिएको हो।
मंगलवार बिहानै सर्लाहीमा नेकपाका कार्यकर्ताहरुको आक्रमणमा परि कांग्रेस कार्यकर्ता रामविलास महतोको ज्यान गयो भने अन्य ७ घाइते भए। अपरान्ह रामेछापमा अर्का कांग्रेस कार्यकर्तामाथि पनि सांघातिक आक्रमण भयो।
नेपाली कांग्रेस सुनापति गाउँपालिकाका नेता अर्जुन रायलाई नेकपा सम्वद्ध श्याम ज्ञापक तामाङले ज्यान मार्ने उद्धेश्यका साथ धारिलो हतियार खुकुरी प्रहार गरेका छन्। उनको जिउभरि चार ठाउँमा खुकुरी प्रहार भएको छ।
आफ्नै घरमा खानेपानीको विषयमा छलफल गर्न बोलाइ तामाङले रायमाथि खुकुरी प्रहार गरेको स्थानियहरुले बताएका छन्। घाइते रायको तामाकोशी अस्पतालमा उपचार भइरहेको छ।
घटनालाई रामेछाप कांग्रेसले गम्भिर रुपमा लिएको भन्दै कांग्रेसको कार्यवाहक सभापति जितेन्द्र मोक्तानले नेकपाको ज्यादती बिरुद्ध सडकमा उत्रने चेतावनी दिएका छन्।
कार्यवाहक सभापति मोक्तानले आक्रमणकारीलाई कार्वाही गर्न कांग्रेसका तर्फबाट प्रसासनसँग माग गरेका छन्।
यसअघी तरुण दल रोल्पाका कार्यकर्ता रोहित पुनको समेत नेकपाको कार्यकर्ताले गोली हानि हत्या गरेका थिए।