काठमाडौं । नेपाली काँग्रेसको विधान मस्यौदा समिति विधानलाई अन्तिम रुप दिनका लागि लागेको छ । तर विधान मस्यौदा पूर्ण सहमतिमा नजाने लगभग पक्का भएको छ ।
विधानको अन्तिम मस्यौदामा विधान मस्यौदा समिति सदस्यबीच सर्वसम्मति नभएपछि विकल्पसहित पठाइने लगभग पक्का भएको हो ।
तर अझै सहमतिमै विधान मस्यौदा तयार गर्ने प्रयास भने जारी रहेको छ । समिति सदस्य प्रदीप पौडेल शुक्रबार (कात्तिक १६) सम्म मस्यौदा बुझाउनु पर्ने भएकाले अझै केही दिन बाँकी रहेको र सहमति खोजिने बताउँछन् ।
उनका अनुसार अधिकांश विवादित विषय टुंगिसकेका छन् । तर कार्यसमितिको आकार र पदाधिकारी संख्यालगायत ६ मुख्य बुँदामा सहमति भएको छैन ।
ती बुँदाहरुमा विकल्प पनि संगसंगै समेटिने बुझिएको छ ।
पहिले सबै विषयमा विकल्प राखिए पनि अब भने सकेसम्म सबै विषयमा सहमति गर्न खोज्दा केही विषयलाई विकल्प नै दिनुपर्ने देखिएको हो ।
प्रारम्भिक मस्यौदामा केन्द्रीय सदस्यको संख्या १ सय १, १ सय २३ वा १ सय ३३ मध्ये कुनै एउटा बनाउन सकिने प्रस्ताव गरिएको थियो ।
त्यसैगरी सभापतिबाहेक दुई उपसभापति, दुई महामन्त्री, तीन सहमहामन्त्री र एक कोषाध्यक्ष राख्ने प्रस्ताव मस्यौदामा राखिएको थियो ।
केन्द्रीय पदाधिकारीको संख्या बढाउने र सभापतिले मनोनीत गर्ने प्रावधानले सभापतिलाई अझ बलियो बनाउने भन्दै देउवाइतर नेताले विरोध गरेका थिए ।
यस सम्बन्धमा सहमहामन्त्री डा प्रकाश शरण महत भने अब आउने सभापतिलाई काम गर्न सहज हुने बताउँछन् । उनले अहिलेको सभापतिलाई बलियो बनाउन नखोजिएको पनि स्पष्ट पारे । उनले भने, ‘सभापति देउवाले आफ्नो अधिकार नै प्रयोग नगरेको अवस्थामा के को बलियो भन्ने कुरा ।’