काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी नेपाली काँग्रेसले शुक्रबार आयोजना गर्ने चियापान कार्यक्रममा पनि सरीक नहुने भएका छन् ।
काँग्रेसले शुक्रबार काठमाडौं उपत्यकाका तीन जिल्लाको संयुक्त रुपमा पार्टी मुख्यालय विपीनगर, सानेपा र अन्य ७४ वटै जिल्ला सदरमुकाममा दिउँसो १ बजे चाडबाडको उपलक्ष्य पारेर वृहत चियापान गर्दैछ ।
सो चियापानमा केसीले सहभागीता नजनाउने भएका हुन् । हाम्राकुरासंग उनले भने, ‘निम्तो आएको छ तर म जान्न ।’
नजाने बारेमा उनले भने, ‘कसैको चियापान कुरेर बस्ने कुरो भएन, मलाई विराटनगर जानुपर्नेछ ।’
यसअघि गत शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चियापानमा पनि केसी थिएनन् । उनी भैरहवा गएका थिए ।
नेकपाको चियापानबारे उनले भने, ‘म नगए पनि पार्टीका महासचिव, महिला संघकी अध्यक्ष र सांसद गएका थिए त्यति गएर नपुग्ने रहेछ र ?’
यसपटक काँग्रेसको चियापानमा पनि पार्टीबाट केही प्रतिनिधि जाने उनले बताए । आफू भने विराटनगरमा पार्टीको आन्तरिक काममा जान लागेको उनले बताए ।
उनले भने, ‘वनको चरो के वास्छ के वास्दैन, कतिबेला कसले चियापान गराउला भनेर के कुरेर बस्नी हो र !’