निर्मला प्रकरणमा सरकार एक दिनमात्र प्रमाण मेटाउन सक्रिय भयो – बाबुराम भट्टराई
‘अर्कोलाई खाने बाघले तपाईं / हामीलाई पनि खान्छ’
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
447
Shares
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार एक सय दिन पुगेको छ । सय दिनसम्म पनि सरकारले बलात्कारी र हत्यारालाई पक्राउ गर्न सकेको छैन ।
पछिल्ला गतिविधिहरुलाई हेर्दा यो घटनामा प्रहरीसंगै सरकारको पनि प्रत्यक्ष संलग्नता भएको पाइन्छ । गृह मन्त्रालयले दुई अधिकृतलाई बर्खास्त गरे पनि उनीहरुबाट सत्यतथ्य बाहिर ल्याउन सकेको छैन ।
निर्मलाको शव गत साउन ११ गते भेटिएको थियो । त्यसपछि मानवअधिकारकर्मीदेखि लिएर स्थानीय, विपक्षी दलका नेता कार्यकर्ता तथा समस्त न्याय खोज्ने नेपालीले सरकारलाई बलात्कारी र हत्यारा पक्रन दबाब दिए । तर सरकारले अहिलेसम्म सुनेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री रामबहादुर थापा बादलसम्मले विपक्षीले निर्मला काण्ड अनावश्यक उचालेको आरोप लगाएका थिए । तर यो काण्ड विपक्षीको मात्र हैन सिंगो समाजको प्रतिनिधित्व हो ।
निर्मलाका हत्यारालाई कार्वाही गर्न थालिएको माग अहिलेसम्म जारी छ । शुक्रबार साँझ काठमाडौंमा निर्मलाको सम्झनामा दीप प्रज्वलनसमेत गरिने भएको छ ।
निर्मलाका निम्ति न्याय अभियानले आयोजना गरेको सो कार्यक्रम शुक्रबार साँझ ५ बजे पाटन कृष्ण मन्दिरमा आयोजना गरिने आयोजकले जनाएको छ । निर्मला पन्तको न्यायको लागि महिला अधिकारवादी मात्रै नभएर देशका विभिन्न स्थानमा हजारौ स्वतन्त्र नागरिकहरुले आन्दोलनको आवाज उठाए पनि अहिलेसम्म पनि निर्मलाको हत्यारामाथि कारबाही भएको छैन ।
यसैबीच नयाँ शक्ति पार्टीले पनि प्रदर्शन गर्ने भएको छ । नयाँ शक्तिको महिला शक्ति महासंघले प्रदर्शन गर्न लागेको हो ।
के भन्छन् नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई ?
डा भट्टराईले सामाजिक संजाल ट्वीटरमा शुक्रबार बिहान ट्वीट गर्दै ‘निर्मलाको बलात्कार–हत्याको सय दिन। २/३को सरकार कुम्भकर्णे निद्रामा ! (खालि एक दिन प्रमाण मेटाउन सक्रिय ! )हामी अलिक विवेक र संवेदना हुनेहरू पनि तमासे नबनौं ! अर्कोलाई खाने बाघले तपाईं / हामीलाई पनि खान्छ। आज जहाँ जहाँ पायक पर्छ विरोध कार्क्रममा सहभागी बनौं ! चूप लाग्नु भनेको मतियार बन्नु हो !’