काठमाडौं । नेपाली काँग्रेसको मंसिर ५ देखि ९ गतेसम्म हुने भनिएको महासमिति बैठक तोकिएको मितिमा नहुने काँग्रेसका जिम्मेवार नेताहरुले बताएका छन् । शुक्रबार काँग्रेसका केही जिम्मेवार नेताहरुले हाम्राकुरालाई दिएको जानकारी अनुसार तोकिएको मितिमा महासमिति बैठक गर्न केही प्राविधिक तयारी नपुगेकोले सर्ने सम्भावना धेरै रहेको बताएका हुन् ।
काँग्रेसका महामन्त्री शशांक कोइरालाले बैठकको तयारी पूरा नभएकोले तोकिएको मितिमा बैठक हुने सम्भावना टर्दै गएको बताएका छन् । शुक्रबार हाम्राकुरासँग कुराकानी गर्दै उनले अहिलेकै गतिमा अघि बढ्यो भने महाधिवेशन तोकिएको मितिमा हुन सम्भव नभएको बताएका हुन् । उनले प्राविधिक कारणले एक दुई हप्ता भएपनि महासमिति बैठक सर्न सक्ने दाबी गरे ।
त्यस्तै काँग्रेस केन्द्रीय सदस्य गगन थापाले पनि महासमिति बैठककमा केही प्राविधिक विषयहरु जस्तै नेविसंघको उमेरहदको विवाद, विधान संशोधन जस्ता विषयमा देखिएको विवाद नसुल्झिएको र देशैभरीबाट महासमिति सदस्यहरु काठमाडौंमा आउनुपर्ने भएकोले यसको तयारीको लागि पनि समय अपुग रहेकोले तोकिएको मितिमा बैठक हुने सम्भावना कम रहेको बताए ।
यस अघि भदौ महिनामा स्पष्ट मिति नतोकि महासमितिको बैठक गर्ने घोषणा गरेको काँग्रेसले तत्कालीन समयमा मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा बैठक गर्ने गरी त्यतिबेला स्थगित गरेको थियो ।