पूर्वमन्त्री तथा वामपन्थी नेता पद्मरत्न तुलाधरकाे निधन
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
411
Shares
काठमाडाैं । पूर्वमन्त्री तथा वामपन्थी नेता पद्मरत्न तुलाधरको ७७ वर्षकाे उमेरमा असामयिक निधन भएकाे छ । काठमाडाैकाे थापाथलीस्थित नर्भिक अन्तर्राष्टिय अस्पतालमा नेता तुलाधरकाे निधन भएकाे हाे ।
तुलाधर नेपाल भाषा तथा मानव अधिकार आन्दोलनका अगुवा हुन् । त्यति मात्रै हाेइन, उनी तत्कालीन समयमा चर्चा पाएकाे प्रचण्डपथकाे एउटा हाँगाे मानिन्छन् ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई गएकाे शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको हो । पछि उनलाई नर्भिक सारिएकाे थियाे । नर्भिक अस्पतालका चिकित्सक आर.के. अग्रवाल र राजीव झालगायतको टाेलीले उपचार गरिरहेको थियो। चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएको हाे । परिवारका सदस्यका अनुसार तुलाधर छातीको गम्भीर सङ्क्रमणबाट बढी थलिएका थिए ।
एमाले र माअाेवादी केन्द्रबीच एकता भएपछि तुलाधर अाफूले गरेकाे प्रयास अन्तत: सफल भएकाे भन्दै निकै खुसी भएका थिए । उनले तत्कालिन माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउने देखि नेकपा एकीकरणमा समेत आफ्नो प्रयासबारे स्मरण गराएका थिए ।
तुलाधरले अाफुलाई भेट्न पुगेका नेकपाका नेतासँग, ‘जनयुद्धको समयमा माओवादीलाई वार्तामा ल्याउन माओवादीसँग वार्ता गर्न जाँदा यहि हो प्रचण्ड भनेर मलाई थुने । तर आज मेरो प्रयास सार्थक भएको छ । नेकपाले अब देशमा समृद्धिको नेतृत्व गर्नुपर्छ ’ भनेका थिए ।
आफू तीनपटक तत्कालिन एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव जितेको र स्वतन्त्र वामपन्थीकै हैसियतमा २०५२ सालमा स्वास्थ्यमन्त्री बन्दाको क्षण पनि उनले सम्झिएका थिए ।
नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरे । उनी पत्रकार तथा साहित्यकार पनि थिए । तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनकाे सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।