प्रचण्डपथ विर्सिए पुष्पकमल, शान्ति प्रक्रियामा तुलाधरलाई देखे
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
812
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरलाई श्रद्धाञ्जलि दिँदै नेपालको शान्ति प्रक्रियामा उनकाे योगदान स्मरणीय रहेको बताएका छन् ।
अाइतबार दिउँसाे निधनपछि तुलाधरलाई श्रद्धाञ्जलि दिँदै अध्यक्ष दाहालले भने, “नेपालको शान्ति प्रक्रियामा उहाँले यस्तो समन्वयकारी भूमिका निर्वाह गर्नुभयो, जसले साँच्चै नै नयाँ राजनीतिक वातावरण बनाउन महत्वपूर्ण योगदान गर्नुभयो ।”
नेपालको राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रजका रुपमा तुलाधरलाई सम्झँदै उनले मानवाधिकार संरक्षणको क्षेत्रमा गरेकाे योगदानलाई नेपालीले सधैँ सम्झिरहने बताए । उनले तत्कालीन समय निकै चर्चा पाएकाे प्रचण्डपथबारे भने केही सम्झिएनन् । दिवंगत नेता तुलाधरले भने केही समय अघि मात्रै कुनै समय प्रहरीले प्रचण्ड यही नै हाे भनेर घेरा हालेकाे सुनाएका थिए ।
यसैबीच तुलाधरका परिवारसँगको कुराकानीमा उनले राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गर्न पहल गरिने बताए । नेकपाका अर्का नेता अमिक शेरचनले तुलाधर मानवाधिकार र राजनीतिक अधिकारको अगुवा रहेको भन्दै उहाँले राष्ट्रलाई दिएको योगदान अविस्मरणीय रहेको प्रतिक्रिया दिए ।
यसअघि नर्भिक अस्पतालमा श्रद्धाञ्जलिका लागि पुगेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका बिर्सन नसकिने उल्लेख गरे । नेकपाका महासचिव विष्णु पौडेल स्व तुलाधरको निधनप्रति दुःख व्यक्त गर्दै जनीतिक तथा मानवधिकार संरक्षणको क्षेत्रमा तुलाधरले गरेकाे योगदान अविस्मरणीय रहेको बताए ।
नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले तुलाधार आदर्शवान् र निष्ठावान् व्यक्तित्व भएको प्रतिक्रिया दिँदै भने, “लोकतान्त्रिक आन्दोलन र पञ्चायती शासनविरुद्धको खम्बा हुनुहुन्थ्यो ।” तुलाधरप्रति श्रद्धाञ्जलि अर्पण गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि अस्पताल पुगे ।
मानवाधिकारकर्मी सुबोध प्याकुरेल, अधिकारकर्मी दमन्नाथ ढुङ्गाना, प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठ, अधिकारकर्मी मल्ल के सुन्दर, संस्कृतिविद् डा चुन्दा बज्राचार्य, बौद्धविद्वान् राजेन्द्रमान बज्राचार्य, दुर्गालाल श्रेष्ठलगायत विभिन्न व्यक्तिले अस्पताल पुगेर तुलाधरप्रति श्रद्धाञ्जलि अर्पण गरे ।
नेपाल भाषा मंका खलःका महासचिव नरेशवीर शाक्यले तुलाधरको पार्थिव शरीरलाई घरमा लगेर रातभरि पूजा तथा परित्राण पाठ गरिने बताए । मस्तिष्काघात भएर अघिल्लो शुक्रबार अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । गएकाे बिहीबार छाती र मूत्रनलीमा सङ्क्रमण भएपछि नर्भिकमा ल्याइएको ज्वाइँ गौरी प्रधानले जानकारी दिए ।