arrow

तिहारको पहिलो दिन धनतेरसमा यमराजको पुजा किन ?

logo
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
danwantai.jpg

काठमाडौं। आज धनतेरस, प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी अर्थात काग तिहारका दिन धन्वन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ। धनकी देवी महालक्ष्मीको बिशेष पुजा गर्ने गरेपनि कुबेरको जन्मोत्सवसँग यसराजको पनि पुजा गरेर धनतेरस पर्व तथा तिहारको पहिलो दिन मनाइन्छ।

धनकी देवी महालक्ष्मी र कुवेरको पुजा गर्ने भएकाले आजको दिनलाई धन त्रयोदशी र धनतेरस भन्ने गरिन्छ। महालक्ष्मीलाई सेतो वस्तु मनपर्ने भएकाले तिहारमा चाँदी किन्ने चलन छ।

धनतेरसका दिन सन्ध्याकालमा यमराजलाई पूजा गरी एउटा दियो बाली घरको मूल दैलोमा राख्ने गरिन्छ। यमराजलाई घर भित्र नपस्न र कसैलाई दुःखकष्ट नपुर्‍याउन अनुरोध गर्दै पूजा गरिन्छ। यो पर्व स्वास्थ्य र दीर्घायुसंग सम्बन्ध राख्ने पर्व हो।
धनतेरसमा यमराजको पुजा 

प्रत्येक वर्ष तिहारको प्रारम्भमा नै मनाइने धनतेरस पर्वसँग जोडिएको एउटा लोक कथा छ। राजा हिमालयले छोराको जन्मकुण्डली निर्माण गराउने क्रममा ज्योतिषीका मुखबाट विवाह गरेको ठीक चौथो दिन सर्पले टोकेर छोराको मृत्यु हुने थाहा पाए।

विवाह त भयो तर जब हिमालयकी बुहारीले यो कुरो थाहा पाइन् त्यसपछि उनले जुनसुकै तरिकाले  पतिलाई यमराजबाट मुक्त तुल्याउने जुक्ति खोज्न थालिन्।

विवाहको ठीक चौथो दिन उनले पतिको कोठाबाहिर घरका सबै गहनाको थुप्रो बनाएर पहाड झैं अग्लो चुली बनाइन् र आफु पनि  सँगै बसेर अनेक गीत, भजन र कथा सुनाउँदै श्रीमानलाई निन्द्रा नआओस् भनेर भुलाउन थालिन्। रात्रीकालमा यमराज सर्पको रूप धारण गरी हिमालयका छोरालाई डस्ने विचारले त्यही ठाउँमा आइपुगे। तर गहनाको पहाडलाई तिनले नाँघ्न सकेनन्।

जसोतसो  सर्पका रूपमा यमराज त्यस थुप्रोको टुप्पामा त पुगे, तर त्यहाँ पुग्दा निक्कै थकाइ लागेकाले थकाइ मार्नुपर्‍यो। थकाइमार्ने क्रममा उनको कान भित्र राजकुमारीले गाएका मीठामीठा गीत र भजनको ध्वनि गुन्जियो। उनी मन्त्रमुग्ध भए। ती गीत, भजन र कथाहरू सुन्दासुन्दै उज्यालो भयो।

भोलिपल्ट बिहान सर्पका रूपमा त्यहाँ आएका यमराजले खाली हात फर्कनुपर्‍यो। यसरी राजकुमारीले पतिको जीवनरक्षा गरिन्। यसै घटनापछि मानिसहरूले घरका सद्स्यहरूको आयु, आरोग्य र सुख समृद्धिका निमित्त धन त्रयोदशीका दिन सन्ध्याकालमा घर बाहिर यमराजलाई बाटो छेक्न एउटा दियो बाल्ने चलन बसेको विश्वास गरिन्छ।

पारिवारिक सुख र सुस्वास्थ्यको प्रतिकका रुपमा आज धनतेरसका दिन घरबाहिर एउटा बत्ती बाल्ने गरिन्छ। त्यसैले धनधान्य र सम्मृद्धिकी देवी लक्ष्मीको उपासनासँग सम्बद्ध यस पर्वमा सबैभन्दा पहिले यमराजको उपासना गर्ने गरिन्छ।

धनतेरसका दिन सुनचाँदीका भाँडाकुडा, सिक्काहरू, आभूषण किन्ने परम्परा पनि छ। हिजोआज मोटरबाहन, मोबाइल, कम्प्युटर जस्ता विलासिताका वस्तुहरू खरीद गर्न पनि यसै दिनलाई पर्खने चलन समेत छ।

विशेषगरी आजकै दिन चाँदी र यसबाट निर्मित सर–सामान किन्नाले फलिफाप हुने धार्मिक मान्यता छ। धनतेरसका दिन नेपालको तराइ क्षेत्र र भारतमा नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ। 

हिन्दु धर्ममा यमपञ्चक (तिहार) मा धातु चढाउने पुरानो मान्यता भएको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। यमपञ्चकमा धातुका सामान किन्ने परम्परा रहेपनि पछिल्लो समयमा धनतेरसमै सुनचाँदीका सामान किन्नेको चाप बढ्ने गरेको उनको भनाइ छ। गच्छेअनुसार उच्च वर्गले सुनको असर्फी नै लक्ष्मीमातालाई चढाउँछन् भने मध्यम तथा निम्नमध्यम वर्गीय परिवारले चाँदी र चाँदीबाट बनेका सामान चढाउँछन्।

धनतेरसमा चा“दी किनेर मातालक्ष्मीलाई चढाउदा धन सम्पत्ति बढ्ने जनविश्वास छ। तिहारमा विशेषगरी चाँदीको दियो, पूजाको थाली, घण्टा, करुवा, आरती, सुकुन्दा, चाँदीको लक्ष्मी–गणेशको मूर्ति कुँदिएका असर्फी र लक्ष्मी तथा लक्ष्मीनारायण र गणेशको मूर्तिलगायत सामान बढी बिक्री हुने गरेको शाक्यले जानकारी दिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ